धरान : प्रदेश १ का मुख्यमन्त्री सेरधन राईले उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित कोरोना सङ्क्रमित क्षेत्रमा पुगेर प्रदेश सरकारको सम्पूर्ण ध्यान, सम्पूर्ण योजना र सामाग्रीका लागि भुल्केलाई केन्द्रित गरेर योजना तयार गर्ने बताएका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिकाबाट उदयपुरको कोरोना सङ्क्रमित क्षेत्र भुल्के हेलिकोप्टर मार्फत पुगेका मुख्यमन्त्री राईले यो अवस्थामा कोही पनि जनता भोकै बस्न दिन्न, स्थानीय तह हुँदै प्रदेश सरकारले समस्या हल गर्ने पनि बताए ।

सामाजिक विकास मन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की सँगै पुगेका मुख्यमन्त्री राईले कोरोना नियन्त्रणका लागि भुल्के क्षेत्रलाई पुरै लकडाउन गर्नुपर्ने जरुरी रहेको बताए । भुल्केमा अत्यावश्यक खाद्य सामाग्रीको सम्पूर्ण व्यवस्थापन स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले गर्छ भन्दै मुख्यमन्त्री राईले प्रदेश १ मा कोरोना नियन्त्रणका लागि १ करोड ६८ लाख बजेट विनियोजन गरी सकेको जानकारी दिएका छन् । प्रदेश सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई अत्यावश्यक चिजहरू मास्क, सेनिटाईजर, इन्धन लगायतका सामाग्रीका लागि सो बजेट विनियोजन भएको मुख्यमन्त्री राईले स्पष्ट पारे ।

प्रदेश १ का अस्पतालहरूलाई व्यवस्थित बनाउन ३ करोड, स्थानीय तहहरूलाई ९ करोड, जिल्ला समन्वय समितिहरूलाई ७० लाखको दरले कोरोना नियन्त्रणका लागि बजेट विनियोजन प्रदेश सरकारले गरेको मुख्यमन्त्री राईले जानकारी दिएका छन् । यसै गरी यो विपतको बेलामा अहोरात्र खटिएर सूचना सङ्कलन गर्ने संचारकर्मीहरुका लागि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको पनि मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

भुल्के स्थित नेपाली सेनाको १८ नम्बर बाहिनीको हेलिप्याडबाट भुल्केको खुल्ला चौरमा पुगेको मुख्यमन्त्री र अन्य दुई मन्त्रीहरूले भुल्केको समस्यालाई समाधान गर्न प्रदेश सरकार लागि परेको बताएका छन् । सामाजिक विकास मन्त्री जीवन घिमिरेले भुल्केमा रहेको मिश्रित बसोबासमा सामाजिक सदभाव कायम हुनुपर्ने बताउँदै यहाँ कोरोना सङ्क्रमित मुस्लिम धर्मगुरुहरूबाट कोरोना सङ्क्रमण नभई विदेशबाट आएका स्थानीयबाट कोरोना सङ्क्रमण भएको बताए । भुल्केमा देखिएको स्वास्थ्य सामाग्रीको अभाव परिपूर्ति गर्न प्रदेश सरकार लागि परेको मन्त्री घिमिरेले बताए ।

कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले मुलुक भरको ६० प्रतिशत कोरोना भुल्केमै देखियो त्यसैले भुल्केलाई केन्द्रत गरेर सरकारले योजना बनाउन माग गरे । भुल्केका बासिन्दालाई चुनौती र अवसर दुवै भएको बताउँदै मेयर चौधरीले भने कोरोना सङ्क्रमण हुन सक्ने चुनौती एकातिर छ भने यहाँका सबैले कोरोना परीक्षण गर्ने अवसर पनि पाएका छौ ।

अहिले सम्म उदयपुरको त्रियुगा नगरपालिकाले ७ हजार घरधुरीलाई राहत वितरण गरी सकेको मेयर चौधरीले बताए । उनका अनुसार ६४ क्विन्टल बराबर को राहत वितरण भइसकेको छ । भुल्केबासीले उत्पादन गरेको दूधलाई स्थानीय तहमै वितरण गर्नुपर्ने र त्यसबापतको खर्च नगरपालिकाले बेहोर्ने पनि बताए । उनले भुल्केमा कोरोना अस्पताल निर्माण गर्नुपर्ने प्रदेश सरकारलाई माग पनि गरेका छन् ।