झापा : झापाको दमकमा कोरोना सङ्क्रमित फेला परेपछि दमक नगरपालिकामा उच्च सतर्कता अपनाएको छ । दमक नगरपालिका वडा नम्बर ३ का ६२ बर्से एक ज्येष्ठ नागरिकमा कोरोना सङ्क्रमण भएको शुक्रवार साँझ पुष्टि भएको थियो ।

नगरप्रमुख रोमनाथ ओलीले नगरमा सङ्क्रमण देखिएकाले उच्च सतर्कता अपनाएर घरमै बसिदिन नगरवासीलाई अनुरोध गरेका छन् । नगरमा एक जनामा सङ्क्रमण देखिएकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायतका कार्य थालिसकेको मेयर ओलीले बताए ।

महिना दिन अघि दुबईबाट आएका ३४ वर्षीय छोरामार्फत कोरोना भाइरस बुबामा सरेको देखिएकाले कन्ट्याक्ट ट्रेसिङ जटिल हुने देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

‘घरका आमा, बुबा, छोरा र उहाँकी श्रीमतीलाई र्‍यापिड परीक्षण गरिए मध्ये श्रीमतीबाहेक तीनै जनालाई पोजेटिभ देखियो’, स्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईका अनुसार पीसीआर परीक्षणमा भने आमा र छोराको नेगेटिभ आएको हो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चारै जनाको आरडीटी परीक्षण गरिएको थियो । त्यसमा बुवाको मात्र पोजेटिभ रिपोर्ट आएको हो । कोरोना सङ्क्रमित वृद्ध मधुमेहका रोगी थिए । त्यसैले आमा छोरामा कोरोनाको सङ्क्रमण तेस्रो चरणमा पुगेर निष्क्रिय भए पनि बुवामा एक्टिभ भएको हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।

अहिले सङ्क्रमित व्यक्तिले हिँडेको ठाउँको पहिचान गरेर विभिन्न व्यक्तिको पनि स्वाब परीक्षणका लागि धरान पठाउने तयारी भइरहेको छ । त्यसका लागि चार सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिने चौलागाईले जानकारी दिए ।

आइतबार बिहानैदेखि सो क्षेत्रमा आरडिटी परीक्षण सुरु गरिने दमक नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नवीन बरालले जानकारी दिएका छन् । 

विदेशबाट फर्किएर साथीभाइलाई पार्टी, सङ्क्रमितको घरमा सयभन्दा बढिको आउजाउ
झापामा फेला परेका सङ्क्रमितको सयभन्दा बढीसँग यो बिचमा हिमचिम रहेको पत्ता लागेको वडाध्यक्ष नवीन बरालले बताए ।

सङ्क्रमितका घरमा बुधवार मात्र मरिमराउको काम सकिएकाले सो घरमा ५० जनाभन्दा धेरै भेला भएको बताइएको छ । यस्तै अन्य वडाका केही आफन्त समेत सो घरमा नियमित आउँजाउँ गरेको खुल्न आएको छ ।

एक महिना अघि दुबईबाट कोरोना सङ्क्रमित भएर आएको आशङ्का गरिएको उनका छोरा सार्वजनिक यातायातमै चढेर काठमाडौँबाट चैत्र ४ गते दमक आइपुगेका थिए ।

यो बिचको समयमा उनले साथीभाइलाई भेटघाट गरेर बेला मौका खानपिनमा संलग्न गराएको पनि बताइएको छ । उनैबाट बाबुमा कोरोना सङ्क्रमण भएको अनुमान गरिँदै आएको छ ।