धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्रहरीलाई होम क्वारेन्टाइन पठाइएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिना देखि निरन्तर डिउटीमा खटी रहेका प्रहरीहरूलाई कोरोना भाइरसको जोखिम हुन सक्ने भन्दै होम क्वारेनटाईनमा बस्न पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।

प्रतिष्ठानको आकस्मिक कक्ष बाहिर रहेको प्रहरी पोस्टमा सईको कमान्डमा ७ जना प्रहरी खटिएका थिए । उनीहरूको स्वास्थ्यमा जोखिम हुन सक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउनका लागि पनि उनीहरूलाई इलाका प्रहरी कार्यालयले होम क्वारेनटाईनमा पठाएको हो ।

प्रतिष्ठानको आकस्मिक कक्षमा विभिन्न खालका बिरामीहरू उपचारका लागि आई रहने र पछिल्लो समय कोरोना सङ्क्रमित पनि प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका लागि आएकाले प्रहरीको स्वास्थ्यलाई मध्यनजर गरेर उनीहरूलाई क्वारेनटाईनमा पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

अहिले प्रतिष्ठान प्रहरी पोस्टमा सई बुद्धिमान लिम्बुको कमान्डमा अरू प्रहरीलाई परिचालन गरिएको छ । यस भन्दा अघि प्रतिष्ठानमा सई दुर्गा पराजुलीको कमान्डमा ७ जना प्रहरी खटिएका थिए । होम क्वारेनटाईनमा बसेका प्रतिष्ठानका प्रहरीहरूको बिहीबार थ्रोट स्वाब परीक्षण गरिने बताइएको छ ।