धरान : सुनसरी उद्योग वाणिज्य सङ्घले उद्योगी, व्यावसायीहरुलाई सहयोग गर्नको लागि हेल्प डेस्क स्थापना गरेको छ ।

लकडाउनले घरमा सीमित भएका साधारण सदस्यहरूलाई स्वास्थ्य र खाद्यान्न आपूर्ति गरेर सेवा पुर्‍याउन हेल्प डेस्क स्थापना गरिएको सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले जानकारी दिए ।

‘साधारण सदस्यहरूलाई घरमा कुनै बिरामी पर्‍यो, अस्पताल जानुपर्ने भयो । एम्बुलेन्स, डाक्टर, औषधी चाहियो भने हेल्प डेस्कले मद्दत गर्छ,’उनले भने,‘खाद्यान्न के चाहियो, दाल चामल तेल, आवश्यकता के हो त्यो सेवा दिन्छौँ ।’

धरान उपमहानगरपालिकाले विभिन्न वडाहरूमा खाद्यान्न पसलहरू खोल्ने सम्बन्धमा वडाध्यक्षसँग छलफल गरी उपलब्ध गराएको नामावली अनुसार पुनः छलफल गरिने अध्यक्ष गिरिधारी सापकोटाले बताएका छन् ।

धरानमा खाद्यान्न पसलहरूको व्यवस्थापन गर्ने सम्बन्धमा सुनसरी उद्योग वाणिज्य सङ्घमा बृहत् छलफल कार्यक्रममा सो कुरा बताइएको हो ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारीले हाल भइरहेको लकडाउनको अवस्थामा गरिएको तरकारी बजारको व्यवस्थापनमा अन्य सहरहरू भन्दा धरान मोडलकै रूपमा रहेको र अन्य सहरले पनि यो मोडलको अनुकरण गरेको र खाद्यान्नको पसल खोल्नका लागि पनि मापन तयार गरिनुपर्ने बताएका थिए ।

यसै गरी धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले हाल विद्यमान प्रतिकूल अवस्थामा व्यवसायीहरूलाई व्यापार गर्नभन्दा पनि सेवामूलक भावले कार्य गर्न अनुरोध गरे । मेयर राईले प्रतिकूल अवस्था बढ्दै गए हामीले आहार–विहार र बानी–व्यवहारमा पनि परिवर्तन गर्दै जानुपर्ने बताए ।

कार्यक्रममा बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श्रेष्ठले  वडाहरुमा खाद्यान्नको अभाव भएमा आपूर्ति गर्न समन्वय गर्ने र खोल्न निर्णय भएका पसलहरूमा अनिवार्य रूपमा सामाजिक दुरी कायम गरी पसलेले ग्लोब्स र मास्क लगाउनु पर्ने बताए । साथै मूल्य नियन्त्रण सम्बन्धमा केही विवाद आएकोले ती पसलहरूले मूल्य सूचि अनिवार्य रूपमा राख्नुपर्ने बताए ।