धरान : रौतहटमा दुई जना पुरुषमा कोरोना संक्रमण भएको पाईएको छ ।

रौतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय गरी दुईजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ । वृन्दावन नगरपालिकाका संक्रमित युवा अहिले घर मै छन् । कलकत्ताबाट आएका ती युवालाई चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएको थियो ।

प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनःपरीक्षण गर्दा पोजेटिभ देखिएको हो । देवाही गोनाही नगरपालिकाका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् ।

संक्रमित दुवैजना लकडाउनको बेला भारतबाट चोरबाटो नेपाल छिरेको खुलेको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ भने १६ जना निको भईसकेका छन् ।