धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबाइलोजी ल्याबमा कोभिड-१९ टेस्टको क्षमतामा बृद्दी गरिएको छ ।

पी.सी.आर. मेसिनको दैनिक क्षमता ३ सय ५० नमुना छ । हाल सञ्चालनमा रहेको आर.एन.ए. एक्स्ट्र्याकसन मेसिन “म्यानुअल“ हुँदा टेस्ट क्षमता १०० भन्दा बढीको हाराहारीमा रहेको छ । यदि अटोमेटिक आर.एन.ए. एक्स्ट्र्याकसन मेसिन सरकारबाट उपलब्ध हुन सकेमा, ल्याब पूर्ण क्षमतामा सञ्चालनमा आउने र टेस्टको क्षमता हालको भन्दा ३ गुणा बढी हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले जानकारी दिएका छन् ।

हिजो सोमवार मात्र १ सय ८ नमुनाको परीक्षण गरिएको थियो ।

करिब ८ वर्ष भन्दा बढी समय देखि पी.सी.आर. टेस्ट विभिन्न प्रयोगमा सञ्चालन गर्दै आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोलिक्युलर ल्याब दक्ष जनशक्ति युक्त रहेको छ ।

प्रचलनमा आएको कोभिड-१९ टेस्टमा जब २ वटा “जिन“ को तुलना पीसीआर मेसिनबाट गरिन्छ, यस प्रतिष्ठानको ल्याबमा यसका अतिरिक्त थप २ वटा गरी जम्मा ४ वटा “जिन“ उपलब्ध रहेको पनि सह प्रवक्ता डा. ऐरले बताएका छन् ।