धरान : सुनसरी निर्वाचन क्षेत्र १ बाट निर्वाचित नेकपाका संघ तथा प्रदेशका सांसदहरूले आफूखुसी धरानका विभिन्न वडामा पुगेर राहत वितरण गरेको भन्दै नेपाली काँग्रेसले धरान उपमहानगरको एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णयको धज्जी उडाएको आरोप लगाएको छ ।

धरान उपमहानगरपालिकाले राहत वितरणलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने भन्दै फुड बैकको स्थापना गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको छ । तर राहत परिचालन समितिलाई जानकारी नै नदिई धरानमा नेकपाका सभासदहरुले हरेक वडा-वडामा पुगेर आफूलाई अनुकूल हुने गरी राहत वितरण गरेको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

कुनै वडामा ५ सय किलो, कुनै वडामा ७ सय किलो राहत दिएको पाइएको थियो । यसरी धरान उपमहानगरपालिकाको एकद्वार प्रणालीको धज्जी उडाएको भन्दै नेपाली काँग्रेस धरान उपमहानगर समितिले आज एक विज्ञप्ति जारीगरी सो आरोप लगाएको हो ।

Nekapa

नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव युवराज शंकरद्वारा हस्ताक्षरित विज्ञप्तिमा धरान उपमहानगरपालिकाले सर्वदलीय, धरानबाट निर्वाचित सांसदहरुले नै फुड बैकको स्थापना गरेर राहात वितरण गर्ने निर्णय गरेपनि नेकपा सांसदहरुले निर्णय उलंघन गरेको आरोप लगाएको हो ।

राहात वितरणको लागि धरान उपमानगरले निर्णय गर्दा यस क्षेत्रका माननीय सांसदहरू, स्थानीय दलका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू एवं सुरक्षा प्रमुख सहितको बैठकबाट सर्वसम्मत निर्णय गरेको थियो ।

तर सो निर्णयको अवज्ञा गर्दै नेकपाका माननीय सांसदहरूले आयस्रोत नखुलाई स्थानिय सरकारसँग कुनै समन्वय र जानकारी विना नै विभिन्न वडामा आफै राहत वितरण गरेकोमा काँग्रेसले आपत्ति जनाएको हो ।

यस्तो सङ्कटपूर्ण घडीमा अराजनीतिक चरित्र भन्दै भोट माग्ने खालको नेकपाका सांसदहरूले क्रियाकलाप प्रस्तुत गरेर सत्ता पक्षीय संसदहरुले अराजनीतिक खेल खेलेको कांग्रेसको आरोप छ । कांग्रेसले बिज्ञप्तिमा यस्तो खेलको धराने जनताले समय सापेक्ष जबाफ दिने बताउदै स्थानीय सरकारलाई आफ्नो निर्णयमा कटीवद्द भई एकद्वार प्रणाली मार्फत नै राहत संकल तथा वितरणलाई निरन्तरता दिन अनुरोध गरेको छ ।

एकद्वार प्रणालीको गरेको बिसयमा कपुरीले धरान उपमहानगरपालिकाका उपमेयर तथा राहत परिचालन समितिका सहसंयोजक मञ्जु भण्डारी सुबेदीलाई प्रतिक्रिया लिँदा यसबारेमा आफूलाई जानकारी नभएको बताएकी थिइन् ।

सामाजिक सञ्जालहरूमा व्यापक आलोचना भएको थियो । नेकपा भित्रको गुट उपगुटको पनि सामाजिक सञ्जालमा लेखिएको थियो ।

आफू आफै एक द्वार प्रणालीबाट मात्रै राहत वितरण गर्नुपर्ने भन्दै सुझाव दिने नेकपाका सभासदहरुले आफैले आफ्नो सुझावको उल्लङ्घन गरेको पनि सामाजिक सञ्जालमा आरोप लगाइएको छ ।

राहत वितरणमा सङ्घीय सांसद जयकुमार राई, प्रदेश. १ का सभामुख प्रदीप भण्डारी, प्रदेश सांसदहरू भीम आचार्य, उमिता बराइली, सावित्री श्रेष्ठको टोलीले वडा वडामा पुगेर आफै राहत वितरण गरेका थिए ।

कांग्रेसले विज्ञप्ति मार्फत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी, सरसफाईकर्मी एवं कर्मचारी साथीहरू साथै फुड बैक र राहत कोषमा सहयोग गर्ने  सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

congress-press-release