झापा : गत शुक्रवार झापाको दमकमा एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै दमक नगरपालिकाले उच्च सतर्कता अपनाइरहेको छ । सतर्कता अपनाउँदै दमकमा अब एक जना भन्दा बढीसँगै हिँड्न समेत प्रतिबन्ध लगाइएको छ । अति आवश्यक काममा तथा किनमेलमा निस्कँदा पनि एक जना मात्र हिँड्न पाइने नियम बनाएको हो ।

दमकमा आज बसेको नगरपालिका, कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको बैठकले यस्तो निर्णय गरिएको दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले जानकारी दिएकी छन् ।

नगर प्रमुख एवं कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समिति संयोजक रोमनाथ ओलीका अनुसार बजारमा हुल बाँधेर हिँड्ने र किनमेलमा पनि साथी लिएर आउने कार्यले जोखिम बढेको ठहर भएसँगै यस्तो निर्णय गरिएको हो ।

दमकमा हालसम्म ८४ जनाको पिसीआर परीक्षण

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि झापाको दमकमा हालसम्म ८४ जनाको कोरोना भए÷नभएको पिसीआर परीक्षण गरिएको छ ।

गत शुक्रवार दमक–३ का एक ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमित क्षेत्रमा थप सङ्क्रमण फैलिने भएकाले त्यसको पहिचान गर्न हालसम्म ८४ जनाको पिसीआर परीक्षण गरिएको दमक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. खड्गलाल लिम्बूले जानकारी दिएका छन् ।

पिसीआर परीक्षण पहिलो चरणमा दमकका विभिन्न क्षेत्रका शङ्कास्पद ३० जनाको गरिएको र त्यसमा ती वृद्धमा सङ्क्रमण पुष्टि भएको थियो । आइतबार मात्र सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका ५४ व्यक्तिको समेत आरडिटी परीक्षण तथा स्वाब सङ्कलन गरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको उनले बताए ।

पिसीआर परीक्षणको रिपोर्ट आजसम्ममा आउने उनले जानकारी दिएका छन् । सङ्क्रमित क्षेत्रमा डा लिम्बूको संयोजकत्वमा स्वास्थ्यकर्मी, प्राविधिकको छुट्टाछुट्टै चार टोली परिचालित भएको थियो ।