धरान : सुनसरी निर्वाचन क्षेत्र १ का नेकपा सांसदहरुले धरान उपमहानगरका विभिन्न वडाहरुमा पुगेर वितरण गरेको राहत धरानका ५ वटा वडा कार्यालयले धरानको फुड बैकमा जम्मा गरेका छन् ।

सांसदहरुले वडा वडामा पुगेर राहत वितरण गरेको कुरालाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा आलोचना भएको थियो । धरानको राहत वितरणलाई व्यवस्थित बनाउनका लागि धरान उपमहानगरपालिकाले स्थापना गरेको फुड बैकमा जम्मा नगरी स्थानीय सरकारको निर्णय विरुद्ध राहत वितरण नेकपाका सांसदहरुले गरेका थिए । धरानका विभिन्न वडाहरूमा पुगेर वितरण गरेको राहत धरान उपमहानगरपालिकाको १,२,५,१४ र १८ नम्बर वडाले धरान उपमहानगरको फुड बैकमा जम्मा गरेका हुन् ।

नेकपाका सांसदहरुले वडा वडामा पुगेर राहत वितरण गरेको अत्यन्तै सह्रानीय कार्य भएको बताउँदै १८ नम्बर वडाका वडाध्यक्ष प्रवीण राईले भने “त्यो राहतले वडाका राहत पाउनेहरूलाई समेत नपुग्ने भएकोले नगरपालिकाको फुड बैकमा जम्मा गरेको हुँ ।”

धरान उपमहानगरपालिकाको ती ५ वटा वडामा २१ सय चामल नेकपाका सांसदहरुले वितरण गरेका थिए । धरान उपमहानगरपालिकाको फुड बैकद्वारा राहत वितरण गर्दा नुन, तेल, दाल र साबुन पनि वितरण गर्दे आएकोमा सांसदहरुले चामल मात्रै वितरण गरेकाले राहत वितरण गर्न असहज भएकोले गर्दा ५ वटा वडाका वडाध्यक्षहरूले फुड बैकमा जम्मा गर्ने निर्णय गरेको वडाध्यक्ष राईले बताए ।

नेकपाका सङ्घ र प्रदेशका सांसदहरुले धरान उपमहानगरपालिका स्थानीय सरकारको कामलाई हेरेर अनुगमन गरेर सल्लाह, सुझाव दिनुको साटो आफै स्थानीय सरकारको निर्णयलाई लत्त्याउँदै राहत वितरण गर्नु ठिक नभएको धरान १४ का प्रेमप्रसाद पराजुलीले बताएका छन् ।

धरान उपमहानगरपालिकाको राहत परिचालन समितिलाई बाइपास गरेर राहत वितरण हुनु नेकपाका सांसदहरुको मुलुकको यो विषम परिस्थितिमा भोट माग्ने शैलीमा राहत वितरण गरेको भन्दै नेपाली काँग्रेस धरान उपमहानगर समितिले आपत्ति समेत जनाएको थियो ।

लकडाउनमा बजार अनुगमन गर्दा नेपाली काँग्रेसलाई लकडाउन उल्लङ्घन गरेको आरोप लगाइएको थियो तर अघि अघि प्रहरीको गाडी, पछि पछि सांसदको गाडी र राहत बोक्ने ट्रक सँगै आधा दर्जन सङ्घ र प्रदेशका सांसद र नेकपाका कार्यकताको भिड हुँदा चाही लकडाउन पालना भएको हो ? पराजुलीको प्रश्न छ ।