धरान : उदयपुरको भुल्के बासी भन्छन् “प्रदेश र सङ्घीय सरकारका प्रतिनिधि आएर बोल्ने मात्र हुन् बोलेको कुरा कार्यान्वयन हुँदैन ।”

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के गाउँमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । २८ जना मध्ये ११ भारतीय नागरिक हुन् भने १७ जना स्थानीयवासी हुन् । कोरोना सङ्क्रमित २८ जनालाईनै अहिले विराटनगर स्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार गरिँदै छ ।

यत्तिका धेरै एउटै गाउँमा सङ्क्रमित देखिएपछि अहिले भुल्के गाउँ वैशाख ५ गते शनिवारदेखि पुरै लकडाउनमा छ । भुल्केबासीहरु आफ्नो गाउँदेखि कहीँ निस्किएका छैनन् भने अरू कोही पनि गाउँमा आएका छैनन् । सुरु सुरुमा स्थानीय सरकार त्रियुगा नगरपालिका र नजिकै सदरमुकाम रहेकोले जिल्ला स्वास्थ्य कार्यालय उदयपुर, प्रहरी र नेपाली सेना बाहेक कसैको उपस्थिति नै थिएन ।

जब भोजपुरमा पनि कोरोना सङ्क्रमित एक जना भेटिए त्यस पछि प्रदेश नं. १ का मुख्यमन्त्री सेरधन राईले दुई मन्त्री लिएर आफ्नो गृह जिल्ला हेलिकोप्टर लिएर पुगे । भोजपुरमा भन्दा धेरै दिन अघि यत्तिका धेरै सङ्क्रमित देखिएको उदयपुरमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पुगे बाहेक प्रदेश सरकारको उपस्थिति थिएन । तर भोजपुरबाट फर्किदा मुख्यमन्त्री सहितको मन्त्री चढेको हेलिकोप्टर भुल्केमा अवतरण भयो ।

भुल्केबासीको अघि मुख्यमन्त्रीले धेरै राम्रो र मिठो शब्दमा मिठो आस्वसन दिए । भुल्के बासीले पनि विश्वास गरे । तर अहिले सम्म त्यहाँ न त प्रदेश सरकारको उपस्थिति छ न त उदयपुरको सो क्षेत्रबाट निर्वाचित सांसदहरुलेनै चासो व्यक्त गरेका छन् । बरु विभिन्न गैरसरकारी सङ्घ संस्थाहरूले भुल्केलाई सहयोग गरेको त्रियुगा नगरपालिका वडानं. ३ का वडाध्यक्ष अवधेश चौधरीले बताए ।

त्रियुगा नगरपालिकाले भुल्केमा तीन चरणमा अहिले सम्म राहत वितरण गरिसकेको छ । यसै गरी मोरङ उद्योग वाणिज्य सङ्घले पनि भुल्केमै पुगेर सहयोग गरेको छ भने गैरसरकारी महासङ्घले आज ५७ घर मुस्लिम समुदायका परिवारलाई १ थान बाटा, १ थान बाल्टिन, ३ प्याकेट सरफ, १० पकेट बिस्कुट, २ वटा सेनिटाईजर, १ वटा साबुन दानी सँगै ६ वटा साबुन, प्रति परिवार १२ वटाका दरले मास्क र ७ किलो मुराई वितरण गरेको भुल्के बासी पत्रकार यदु ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार एक पटक सामान्य स्वास्थ्य परीक्षण भएको छ । यो सबै स्थानीय सरकारको पहलमा भएको हो तर यही क्षेत्रबाट चुनिएका सांसदहरूको भने पटक्कै भूमिका नदेखिएको भुल्के बासी बताउँछन् ।

प्रदेश र सङ्घीय सरकारले केही गर्न नसके पनि भुल्केमा बसोबास गर्नेहरूलाई कोरोना परीक्षण सम्म गरिदिएका पनि हुनेथ्यो । तर यहाँ आएर बोल्ने मात्रै हुन् गएपछि उनीहरूले बोलेको कुरा बोलीमै सीमित रहने वडाध्यक्ष अवधेश चौधरी बताउँछन् । उनका अनुसार त्रियुगा नगरपालिकाको वडानं. ३ मा १८ सय घर धुरीमा करिब १८ हजार जनसङ्ख्या रहेको छ ।

वडाका सबैलाई सम्भव नभए पनि भुल्के जहाँ सङ्क्रमित भेटिएका थिए त्यो ठाउँ आसपासका सबैको स्वाब परीक्षण गर्न सर्वसाधारणले माग गरेका छन् । तर दुवै तहका सरकारले कानमा बुझो लगाएका छन् । मुख्यमन्त्री हेलिकोप्टर मार्फत भुल्के आउँदा २ सय थान आर डी टी परीक्षण गर्ने किट ल्याएका थिए । त्यसले एक छेउ पनि नभ्याएको वडाध्यक्ष चौधरीको भनाई छ । त्यसैले प्रदेश र सङ्घीय सरकार दुवैले भुल्केको समस्यालाई गम्भिररुपमा लिन पनि उनले माग गरे ।

Bhulke-2 8

उदयपुरमा ६ सय ५५ को स्वाब लिइयो
उदयपुरको त्रियुगा नगरपालिकाको ३ नम्बरको भुल्के, त्रियुगाकै २,११,१२,१० नम्बर वडा सँगै उदयपुरको चौदण्डीगढी नगरपालिकाको मोतिगढा र सिवाईमा गरी ६ सय ४५ जनाको स्वाब लिइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।

उनका अनुसार पछिल्लो समय भुल्केमा मात्रै थप ३३ जनाको स्वाब लिइएको छ । यतिले मात्रै पर्याप्त परीक्षण नभएको र अरू पनि थप परीक्षणको लागि व्यापक माग रहेको उनले बताएका छन् ।