धरान : भोजपुरको हतुवागढी गाउँपालिका ६ होम्ताङका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्रसित भएका हतुवागढी गाउँपालिकामा बिस्तारै वातावरण सामान्य हुँदै गएको छ ।

विदेशबाट आएका युवा क्वारेनटाईनमा पनि नबसी लापर्वही गर्दे हिँडेको अवस्थामा आरडिटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र थप थ्रोट स्वाब परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि भोजपुरको होम्ताङ गाउँ पुरै त्रसित बनेको थियो । उनको लापर्वहीले गाउँमा कोरोनाको त्रास बढेको थियो ।

उनको परिवार र उनीसँग सम्पर्कमा आएका १४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा कसैको पनि कोरोना पोजेटिभ रिपोर्ट नआएकोले गाउँमा त्रास हट्दै गएको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताएका छन् ।

कोरोना सङ्क्रमित युवासँग सम्पर्कमा रहेका र आशङ्का गरिएका थप ३२ जनाको आरटिडी परीक्षण गर्दा समेत कसैमा पोजेटिभ रिपोर्ट नआएकोले गाउँमा थप त्रास हटेको अध्यक्ष राईले बताए ।

सङ्क्रमित युवाको कारण त्रासमय वातावरण बनेको थियो । तर बिस्तारै हतुवागढी गाउँपालिकाको अवस्था सामान्य बन्दै गइरहेको छ । सङ्क्रमित युवाको अवस्था पनि सामान्य रहेको र विराटनगर स्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।