धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका सबैको स्वास्थ्य परीक्षण गर्न भुल्केबासीले माग गरेका छन् ।

गएको वैशाख ५ गते भुल्के स्थित नुरी मस्जिदमा रहेका १२ जना मुस्लिम धर्मगुरुहरुमा कोरोना भाइरस देखा परेपछि अहिले सम्म आई पुग्दा सोही स्थानका २८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । त्रियुगा ३ भुल्के गाउँमा मात्रै यत्तिका धेरै सङ्क्रमित भेटिएपछि गाउँ पुरै सिल गरिएको छ ।

भुल्केबासीहरु कोही पनि गाउँ बाहिर निस्किएका छैनन् । गाउँले त निस्किँदैनन् तर सो वडाका जनप्रतिनिधि वडा बाहिर जाँदा भने समस्या हुने गरेको छ । अरू वडाका वडावासीले ३ नम्बर वडा भन्दै तर्किने र भाग्ने गरेको पिडा सुनाउँछन् त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश चौधरी ।

भुल्केबासी मात्रै होइन, पुरै ३ नम्बर वडाका बासिन्दा देखि अरू ठाउका सबै तर्सिने गरेका छन् । अरू त तर्सिने भए नै भुल्के बासी आफै पनि त्रसित छन् । कतै आफैमा पो कोरोना सङ्क्रमण छ की भनेर । त्यसैले वडाका सबैको नभए पनि भुल्के गाउँका ३ सय घरधुरीको १५ सय जनाको स्वाब सम्भव नभए पनि आरडिटी परीक्षण भए ढुक्क हुने वडाध्यक्ष चौधरी बताउँछन् ।

भुल्के आसपासको क्षेत्रमा रहेका मस्जिदहरूमा प्रत्यक्ष सम्पर्क रहेका व्यक्तिहरूको पनि स्वास्थ्य परीक्षण हुनुपर्छ । मुस्लिम समुदायमा मात्रै अहिले सम्म देखिएको कोरोना सङ्क्रमण अरूतिर फैलिन नदिन बेलैमा सतर्कता अपनाउनुपर्ने वडाध्यक्षको भनाई छ ।

यसबारेमा स्थानीय सरकार नगरपालिकाले एक्लै पहल गरेर हुँदैन । प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने भुल्के बासी संचाकार्मी यदु ढकाल बताउँछन् । तर सङ्घीय सरकारको त कुरै छाडौँ, यही क्षेत्रबाट जितेर गएका सांसदहरूले समेत अहिले सम्म चासो लिएको नपाउँदा निकै दुःख लागेको भुल्केबासीको भनाई छ ।

भुल्केलाई केन्द्र मानेर उदयपुरको सम्भावित जोखिम क्षेत्रहरूमा पुगेर सरकारले आशङ्का गरिएकाहरूको परीक्षण गरेर कोरोना भाइरसको निदान गर्न पहल हुनुपर्छ । तर यसमा सीमित स्वास्थ्य सामाग्री दिएर सीमित स्वास्थ्यकर्मी परिचालन गरेर झन् समस्या बढ्दै गएको छ ।

भुल्केका सबैको र्‍यापिड  टेस्ट गरेर ढुक्क हुने वातावरण सरकारले बनाइदिन भुल्केबासीको माग छ । तर सम्बन्धित निकायले वास्तै नगरेको वडाध्यक्ष चौधरीको भनाई छ ।