इटहरी : सरकारले घोषणा गरेको लकडाउन अवधि एक महिना भन्दा बढी भइसेको छ । लकडाउनलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले निरन्तर मातहतका निकायलाई निर्देशन दिइरहेको छ ।

सोही अनुसार लकडाउनको पालना गर्ने काम भइरहेको छ । प्रहरी प्रशासनले लकडाउनमा कडाइ गर्दै उल्लङ्घन गरेको भन्दै धेरै श्रमिक र स्वास्थ्यकर्मी समेत माथि पनि हातपात पनि गर्‍यो । धेरै सवारी साधन नियन्त्रणमा लिने काम भयो ।

धेरैले वैशाख १५ पछि लकडाउन खुकुलो हुनसक्ने आकलन गरिरहेका थिए । तर कोरोना सङ्क्रमितको सङ्ख्या बढेको भन्दै सरकारले वैशाख २५ सम्म समय थप गरेको छ ।

त्यससँगै लकडाउन उल्लङ्घनका घटनाहरू भने बढ्न थालेका छन् । इटहरी उपमहानगरपालिकाले लकडाउन कडाइ गर्नुको सट्टा निर्णय नै गरेर बिहान ७ देखी १० बजेसम्म बजार पसल खोल्न आग्रह गरेको छ ।

उपमहानगरले सवारी साधन बिनै अत्यावश्यक सामग्री किनबेच गर्न बजार खुल्ला गरेको हो । सोही निर्णय अनुसार नै बिहानको समयमा इटहरी भिडभाड देखिन थालेको छ ।

अत्यावश्यक सामग्रीको किनबेच गर्ने भने पनि हाट नै लगाएर बिक्री वितरण भइरहेको छ । बिहानको समय इटहरी बजार भरिभराउ देखिन थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको बेला लकडाउन उल्लङ्घन गर्न लगाउने इटहरी उपमहानगरको निर्णयको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

इटहरी निवासी शान्तिराम खनालले बिहान ७ देखी १० बजेसम्म कोरोना सुत्न थालेको हो ? भन्दै व्यङ्ग्य गरेका छन् । कोरोना नियन्त्रणको लागी सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

त्यस्तै नागरिक अगुवा राजु केसीले उपमहानगरले जनताको आवश्यकता बुझेर निर्णय गरेको भए पनि स्थानीय जनताले सामाजिक दुरी ख्याल नगरेको टिप्पणी गरे । यस्तो महामारीको समयमा जनता आफै सचेत हुनुपर्ने भन्दै उनले अत्यावश्यक सामग्री खरिद गर्ने बेला मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने उनको भनाई छ ।

अर्का युवा सुरेन्द्र तामाङले लकडाउन उल्लङ्घनमा जनता आफै दोषी रहेको बताएका छन् । बजार खुलेको मौका पारेर दुहबी र इनरुवा देखी सम्म सामान आइरहेको हुनाले सङ्क्रमण फैलीनसक्ने उनले सङ्केत गरेका छन् । भारतीय नाका जोडिएका बजारमा भारतीय सब्जीहरू भित्रिइरहेको र त्यही सब्जी इटहरी बजार ल्याउँदा सङ्क्रमणको सम्भावना बढेको उनले बताए ।

लकडाउन लल्लंघनको समस्या इटहरीमा मात्र नभएर पूर्वका सबै सहरमा उत्तिकै देखिन्छ । सबैभन्दा धेरै शिक्षित समाज रहेको भनिएको धरानमा समेत दैनिक रूपमा लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढीरहेको छ । इलाका प्रहरी कार्यालय सँगको समन्वयमा धरान उपमहानगरले लकडाउनमा शून्य सहनशीलताको योजना बनाएको भए पनि नागरिक स्तरबाटै त्यसको उल्लङ्घन गर्ने काम भइरहेको छ ।

त्यस्तै प्रदेश १ को राजधानी विराटनगरमा पनि उल्लङ्घनका घटना बढीरहेका छन् । काम बिनै भारतीय सीमासम्म पुग्ने र बजारमा जम्मा भएर बस्नेको सङ्ख्या दिनानु दिन बढीरहेको छ ।

उपमहानगरले बारम्बार सूचना जारी गरे पनि नागरिक स्तरबाटै लकडाउन उल्लङ्घन भइरहेको पाइएको छ । प्रहरीले पक्राउ गर्ने र कारबाही गर्ने प्रक्रिया स्थगित गरेसँगै बजारमा भिड लाग्न थालेको हो ।