धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत प्रतिष्ठान प्रहरी पोस्टको ७ जना सहित केही स्वास्थ्यकर्मीहरुको आज थ्रोट स्वाब लिइएको छ ।

उदयपुरमा पछिल्लो समय ८ जनामा कोरोना पोजेटिभ देखिएका मध्ये मोरङको टाडी क्वारेन्टाइनमा बसेका उदयपुरका ३ जना कोरोना सङ्क्रमित प्रतिष्ठानको आईसोलेसनमा बसेका थिए । सो क्रममा प्रतिष्ठानका प्रहरी र केही स्वास्थ्यकर्मी उनीहरूको उपचारको क्रममा सम्पर्कमा रहेको भन्दै प्रतिष्ठान प्रहरीलाई होम क्वारेन्टाइनमा राखिएको थियो भने स्वास्थ्यकर्मीहरु पनि क्वारेनटाईनमै बसेका थिए ।

आज ७ जना प्रतिष्ठान प्रहरी पोस्टमा कार्यरत प्रहरी सहित केही स्वास्थ्यकर्मीहरुको थ्रोट स्वाब स्याम्पल लिइएको बताइएको छ । उनीहरूको परीक्षणको नतिजा नेगेटिभ आउने बित्तिकै प्रहरीलाई तुरुन्त डिउटीमा खटाइने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।

लकडाउनको बेलामा सडक र अस्पताल क्षेत्रमा खटिने दुवै प्रहरीलाई जोखिम हुने र विषेशगरी अस्पताल क्षेत्रमा कार्यरत ७ जना प्रहरीहरू कोरोना सङ्क्रमित प्रतिष्ठानमा ल्याउँदा डिउटीमा रहेकोले प्रहरीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी उनीहरूलाई गएको शनिवार देखि होम क्वारेन्टाइनमा राखिएको डिएसपी न्यौपानेले बताए । उनीहरूको भोलि सम्ममा रिपोर्ट आउने बताइएको छ ।