धरान : कोरोना भाइरस संक्रमणका कारण यस वर्ष सीमित मान्छेहरूको उपस्थितिमा बुद्ध जयन्ती प्रार्थना र पूजापाठ गरी मनाइने भएको छ । यो पटकको २५६४ औँ बुद्ध जयन्ती वैशाख २५ गते परेको छ ।

लुम्बिनीस्थित विहार, मोनास्ट्री र गुम्बाका भिक्षु भिक्षुणी, लामा गुरु, गुरुमा र अनागरिकद्वारा मायादेवी मन्दिरमा उक्त दिन बिहान पूजाआजा गरी मनाइने लुम्बिनी विकास कोष सदस्य सचिव ज्ञानीन राईले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निर्देशनको पूर्ण पालना गर्दै निश्चित भौतिक तथा सामाजिक दुरी कायम गरी पूजा र प्रार्थना गरिने छ ।

साँझ मन्दिर परिसरमा रहेको पुष्करिणी पोखरीमा बुद्धको जति औँ जन्मदिन हुन्छ त्यति नै दीप बाल्ने चलन छ । यसो हुँदा जयन्तीमा २ हजार ५ सय ६४ दीप प्रज्वलन गरेर दीपावली गरिनेछ ।

त्यस्तै बौद्ध समुदाय लगायत सबैलाई सरकारद्वारा जारी निर्देशनको पालना गर्दे आआफ्नो स्थानमा सुरक्षित तरिकाले प्रार्थना एवं पाठपूजा गरी मनाउन अनुरोध गरिएको छ ।

budda-purnima-press-release