इटहरी : प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश विराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । प्रहरी जवानको आधारभूत तालिममा प्रशिक्षकको रूपमा कार्यरत मगर चैत महिनाको सर्वोत्कृष्ट प्रहरी चुनिएकी हुन् ।

एक नम्बर प्रहरी कार्यालयका अनुसार विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यावसायिक, लगनशील रहेर काम गरेकाले उनलाई चैत महिनाको सर्वोत्कृष्ट घोषित गरिएको हो ।

प्रशिक्षार्थीहरूलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै दक्ष, अनुशासित, नागरिक मैत्री तथा व्यावसायिक प्रहरी उत्पादनमा विशेष भूमिका निर्वाह गरेको जिकिर प्रहरी कार्यालयको छ ।

प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरूमा १ महिना सम्म राख्दै आएको छ ।