इटहरी : नेपाली काँग्रेसले कोरोना परीक्षणलाई तीव्रता दिनुपर्ने बताएको छ । पछिल्लो समय आरडिटि परीक्षण विश्वसनीय नभएको भन्दै पिसिआर परीक्षणलाई तीव्रता दिनुपर्ने काँग्रेसले जोड दिएको हो ।

बुधवार विराटनगर मा बसेको नेपाली काँग्रेस प्रदेश १ संसदीय दलको बैठकले कोरोना संक्रमण फैलिन नदिनको लागी पिसीआर टेस्ट लाई तीव्रता दिन सरकार सँग माग गरेको छ । उदयपुरको भुल्के लगायत गाईघाट, मोतिगड, देउडी, जलजले लगायत क्षेत्रका सम्पूर्ण नागरिकमा कोरोना परीक्षण गरिनुपर्ने काँग्रेसको भनाई छ ।

छलफल पछि विज्ञप्ति जारी गर्दै उसले उदयपुरमा कोरोना विशेष अस्पताल बनाउन समेत माग गरेको हो । राहत वितरणमा सरकारले एकद्वार नीति अवलम्बन गरिएको भनीएपनि मन्त्रीका क्षेत्रमा मात्र राहत वितरण भइरहेको भन्दै राहत वितरणका कार्यहरू पारदर्शी ढङ्गले अगाडी बढाउन आग्रह गरेको छ ।

लकडाउनको कारण कृषि उपज उत्पादन र उद्योग धन्दाहरू लामो समय बन्द हुन नदिन सामाजिक दुरी कायम गरी उत्पादन कार्यलाई अगाडी बढाउने वातावरण मिलाउन समेत काँग्रेसले भनेको छ ।

प्रमुख सचेतक केदार कार्की द्वारा जारी विज्ञप्तिमा विदेशमा भएका प्रदेश १ का नागरिकको उद्धारमा सरकारको तर्फबाट ठोस पहल गर्न माग गरिएको छ । साथै बजेट अधिवेशनको मिति तोक्ने र अन्य नियमित काम कारबाहीहरू सुचारु गराउन समेत काँग्रेसले आग्रह गरेको हो ।

Congress-Statement