रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिकामा हिजो साँझ बम विस्फोट हुँदा मृत्यु भएका चार बालबालिकाको शव उठाउन सकिएको छैन ।

घटनास्थलमा अर्को पनि विस्फोट नभएको बम भेटिएकाले त्यो डिस्पोज नभएसम्म शव उठाउन नसकिने बताइएको छ ।

हिजो साँझ भएको विस्फोटमा एकै परिवारका दुई सहित चार बालबालिकाको मृत्यु भएको थियो । त्रिवेणी-४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ५ वर्षीय विजय खत्री, उनकी दिदी ११ वर्षीय विमला खत्री, १३ वर्षीय नोकिराम डाँगी र ११ वर्षीय गौरव नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाउँनजिकको जङ्गलमा गोठाला गएका उनीहरूले खेलौना सम्झेर बम खेलाउँदा बम विस्फोटमा परेर घटनास्थलमै उनीहरूको मृत्यु भएको हो ।

विस्फोटको ठुलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । युद्ध कालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । एकै गाउँका बालबालिकाको मृत्यु भएपछि उनका अभिभावक र आफन्त शोकमा डुबेका छन् । गाउँमा त्रास फैलिएको छ ।

बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ । जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी हिजो साँझ नै घटनास्थल पुगेको छ ।

विस्फोट नभएको बम समेत रहेकाले सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोज नगरुन्जेल सम्मका लागि शव नसकिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको डिस्पोजल टोली अहिले बिहान मात्र घटनास्थल जाँदै गरेको प्रहरीले बताएको छ ।