इटहरी । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु भएका नेपालीहरू प्रति द पिक हस्पिटालिटीले समवेदना प्रकट गदै कपाल मुण्डन गरेको छ ।

विदेशमा रहेका कयौँ नेपाली कोरोना सङ्क्रमणबाट मृत्यु भएका खबरले पिक हस्पिटालिटी परिवार दुखित बनेको र उनीहरू प्रति समवेदना प्रकट गर्न कपाल मुण्डन गरेको हो ।

पिक हस्पिटालिटीको व्यवस्थापनबाट झापामा उद्घाटन हुन लागेको मेची क्राउन होटेलका टिमहरूले सामाजिक दुरी कायम गरी समवेदना प्रकट गरेका हुन् ।

होटेलका म्यानेजर नितेश पोखरेलले कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवार प्रति धैर्य धारणको शक्ति प्रदान गर्नुको साथै उपचारमा रहेका नेपालीहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको बताए ।

यो अत्यन्त संवेदनशील समयमा सरकारले घोषणा गरेको लकडाउन पालना गरी सबै नेपालीहरू घर घरमा सुरक्षित भएर बस्न समेत उनले आग्रह गरे ।

वैशाखदेखि उद्घाटन गर्ने भनिएको मेची क्राउन लकडाउनको कारण पछि धकेलिएको बताउँदै पोखरेलले लकडाउन खुल्न साथ होटेल सञ्चालन आउने समेत जानकारी दिए ।

होटेलका सबै म्यानेजमेन्ट टिम र कर्मचारी सुरक्षित अवस्थामा लकडाउन पालना गरिरहेको उनको भनाई छ ।