धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन (इन्टरनेट माध्यम बाट स्वास्थ्य उपचार) सेवा सुरु गरिएको छ । लकडाउन र ओपिडी मा आउन नपाएका बिरामीले केन्द्रित गरेर टेलिमेडिसिनको विधिबाट उपचार सुरु गरिएको हो ।

लकडाउनको समयमा जो कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने अवधारणामा उपकुलपति ज्ञानेन्द्र गिरीको पहलमा अनलाइन चिकित्सा सेवा सञ्चालन गरिएको प्रतिष्ठानका सह- प्रवक्ता डा. अशोक ऐरले बताए ।

अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर साहका अनुसार अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागी यो सेवा निकै प्रभावकारी हुनेछ।

टेलिमेडिसिन अन्तरगत सञ्चालन भइरहेको यो सेवा विद्यमान कोभिड-१९ को जोखिमयुक्त समयमा बिरामीले घरमा बसेर चिकित्सकहरू सँग प्रत्यक्ष संवाद गरी स्वास्थ्य सेवा, परामर्श लिनसक्ने छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वेबसाइट http://telemedicine.bpkihs.edu मा गएर बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर आफूलाई सहज हुने किसिमको सञ्चार सेवा (टेलिफोन, स्काईप, भाइबर, ह्वाट्सयप) छान्न पाउने प्रतिष्ठानले जनाएको छ ।

यो सेवा नि:शुल्क र प्रदेश-१ भरिकोलागि उपलब्ध हुने छ। बिरामीले उपलब्ध गराएको विवरणको आधारमा २४ घण्टा भित्र प्रतिष्ठानको टेलिमेडिसिन सेन्टर बाट चिकित्सकले आफै बिरामीलाई सम्पर्क गर्ने छन्।

चिकित्सक र बिरामी बिचमा भिडियो बाट समेत संवाद गर्न सकिने हुँदा फोनमा व्याख्या गर्न नसकिएका कुरा पनि हेर्न सकिनाले बिरामीको विश्वास बढ्ने हुँदा यो झनै प्रभावकारी हुने प्रतिष्ठानको भनाइ छ ।