धरान : नेपालमा कोरोना सङ्क्रमित थप २ जना भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको हो । उनीहरूमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगन्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो ।

उनीहरू दुईमध्ये एक जना विदेशबाट आएको खुलेको छ । अर्का बिरामी रुपन्देहीका बासिन्दा हुन् । तर उनलाई नेपालगन्जकै आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । यससँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५९ पुगेको छ । सङ्क्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

बाँकी ४३ सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाइसकेको छ ।