इटहरी : ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शुक्रबार राति आगलागी हुदा ८ घर जलेका छन् । शुक्रबार राति १० बजेपछि फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगो लागेको थियो ।

आगलागीले ८ घर जलेर नष्ट भएका छन् । आगोलागी फैलिन नदिन नजिकैका अन्य दुई घरहरु भत्काईएका छन् । राती करिब साढे १० बजेदेखि आगलागी सुरु भएको थियो । भण्डारी खाजा घर आसपासबाट आगलागी सुरु भएको स्थानीयले बताएका छन् ।

मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएर वातावरण झनै आतंकित भएको थियो । आगलागीपछि नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो । मध्यराति भएको आगालागी नियन्त्रणमा लिन समस्या भएको थियो ।

थप विवरण आउन बाँकी रहेको छ । आगलागीको कारण भने खुलेको छैन ।