धरान : पूर्वी पहाडी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा गए राति भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट ७ घर पुर्णरुपमा जलेर क्षति भएका छन् ।

प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो बिहान पौने ५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

 

राति १० बजेपछि पुरानो बैक लाइनको भण्डारी खाजा घरबाट आगलागी सुरु भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट फुङ्लिङ बजारस्थित पुरानो बैक लाइनका ७ घर जलेर पुर्णरुपमा क्षति भएको ताप्लेजुङका संञ्चारकर्मी प्रयास लिम्बूले जानकारी दिएका छन् ।

मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिन्डर विस्फोट भएर वातावरण झनै आतङ्कित बनाएको थियो । 

आगलागीबाट २० करोड भन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । क्षतिको तथ्याङ्क सङ्कलन सुरु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा भएको आगलागी यो पाँचौँ पटक हो । यसभन्दा अघि २०६० सालमा फुङलिङ बजारको विरेन्द्रचौकबाट सुरु भएको आगलागीले ४५ घर जलेका थिए । त्यसैगरी २०६९ साल कार्तिक १८ गते लागेको आगोलागिले ७ घर जलेका थिए । यसै गरी २०७० साल माघ ९ गते भएको अर्को आगलागीमा ११ घर जलेका थिए । २०७१ साल चैत्र ९ गते लागेको अर्को आगलागीमा २२ घर जलेका थिए ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागीका घटना दोहोरिनुको मुख्य कारणको बारेमा थप अनुसन्धान स्थानियबासीहरुले माग गर्दै आएका छन् ।