धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रहरी र स्वास्थ्यकर्मीहरुको पिसिआर परीक्षण नेगेटिभ आएको छ ।

बिहीबार लिइएको स्वाबको रिपोर्ट कोरोना नभएको आएको प्रतिष्ठानको माईक्रोबायोलोजी विभागले जनाएको छ । कोरोना सङ्क्रमित आईसोलेसनमा बसेको र थप परीक्षणको लागि प्रतिष्ठान ल्याइएकोमा कोरोनाको जोखिम बढेको भन्दै प्रतिष्ठानमा कार्यरत ७ जना प्रहरी र बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीलाई क्वारेनटाईनमा राखिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षसँगै रहेको प्रतिष्ठान प्रहरी पोस्टमा कार्यरत प्रहरी ७ जनाकै नेगेटिभ रिपोर्ट आएकोले उनीहरूलाई पुनः सई दुर्गा पराजुलीकै कमान्डमा प्रतिष्ठानमा डिउटी खटाई सकिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन् । सई बुद्धि लिम्बुको कमान्डको प्रहरी टोलीलाई फर्काइएको छ ।