धरान : लकडाउन भएको ४० दिन बितिसक्दा पनि सरकारले जनताको सास्ती बुझ्न नसकेको भन्दै धरानमा उपनिर्वाचनमा मेयरको उम्मेद्वार बनेका हर्क साम्पाङ हर्क साम्पाङले सरकार समक्ष ७ बुँदे माग पेस गरेका छन् ।

शनिवार धरानको भानुचौकमा आफूलाई यो देशको एउटा करदाता र मतदाता बताउँदै धरान उनले लिखित माग पत्र सार्वजनिक गरेका छन् । तिनै तहका नेपाल सरकार भनी सम्बोधन गरी माग पूरा गरी स्थिति सुधार गरिपाऊँ भनी विषय खुलाएका छन् । ब्यानर सहित भानुचौकमा पुगेर पत्रकार सामु माग पत्र पढेर सुनाएका थिए ।

विदेशमा र स्वदेशमै विभिन्न ठाउँमा अड्किएर बसेकाहरूले घर सम्म ल्याउने व्यवस्था गर्न पनि माग गरेका छन् । घर फर्कन चाहने नेपालीहरूलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राखिनुपर्ने, सुरक्षितलाई घरमा पठाउनुपर्ने र सङ्क्रमितलाई उचित उपचारको माग गरेका छन् ।

राहत वितरणमा दलीय र जातीय विभेद नहोस्, पाउनु पर्नेले पाओस् नपाउनु पर्नेले नपाओस् भन्ने पनि माग माग पत्रमा उल्लेख गरेका छन् ।

साना खुद्रा व्यापारी मारमा परेको र ठुला व्यपारीहरुको चैन भएको अवस्था रहेको बताउँदै सबै व्यवसायिहरुलाई समान व्यवहार गरिनुपर्ने, कालोबजारी र भ्रष्टाचार गर्नेलाई कडा भन्दा कडा कारबाही गरिनुपर्ने,कोरोनाको उपचारमा खटिएका चिकित्सकहरूलाई पर्याप्त सुरक्षा सामग्री र उपकरण नभएको, कोरोना बाहेकका बिरामीहरूको उपचारमा ध्यान दिन पनि अनुरोध गरेको छ ।

कोरोनाको प्रभाव नभएको ठाउँमा नाका बन्द गरेर लकडाउनलाई सहज बनाउन अनुरोध साथै लकडाउन अवज्ञा गरेको भन्दै नागरिकहरूमाथि गरिने निर्घात कुटपिट र अभद्र हिंसात्मक व्यवहार बन्द गरियोस् भन्ने साम्पाङले माग गरेका छन् ।