इटहरी : उदयपुर घर भएकै कारण अपरेसन थिएटर बाट बिरामी निकाल्ने विराटनगरको नोबेल मेडिकल कलेजलाई कारबाहीको माग गरिएको छ । बिरामीको उपचार गर्न नमान्ने अस्पताललाई कारबाही गर्न उदयपुरका जनप्रतिनिधिहरुले माग गरेका हुन् ।

त्रियुगा नगरपालिका गाईघाटमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा सदस्यहरू विमल कार्की, नारायण बुर्जा मगर तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले नोबेल अस्पताललाई कारबाही गर्ने माग गरेका छन् ।

गत बुधवार नोबेल अस्पतालले प्रसूति गराउन गएकी त्रियुगा ११ की २९ बर्सिया सरस्वती रौनियारलाई अपरेसन थिएटरबाट निकालेको घटना प्रति खेद व्यक्त गर्दै उनले कारबाहीको माग गरेका हुन् ।

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि स्वास्थ्य सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक र संविधान प्रदत्त अधिकार भएको भन्दै नोबेल ले उदयपुरवासी विरुद्ध घृणा फैलाउने काम गरेको मेयर चौधरीले आरोप लगाए ।

उदयपुरवासी माथि आपराधिक काम भएको भन्दै तत्काल कारबाही हुनुपर्ने उनको भनाइ छ । नोबेल को विज्ञापन हुने प्रवर्द्धनात्मक कार्यक्रमहरू एक वर्षका लागि निषेध गर्नुका साथै विपद्को बेला उपचार गर्न नमान्ने अस्पतालमा बिरामी नलैजान सबैमा अपिल गरेका छन् ।

प्रदेश १ प्रदेशसभा सदस्य विमल कार्कीले कुनै पनि अस्पतालले बिरामीलाई बहाना बाजी गरेर उपचारबाट वञ्चित गर्नु मानवता विरोधी काम भएको बताए ।

उपचार गर्न नसक्ने कुनै कारण बिनै उदयपुर घर भएकै कारण अन्यत्र रेफर गरेर बिरामीको उपचार नगर्नु अपराध भएको उनको तर्क छ । राज्यको अनुदानमा मातृ शिशु कार्यक्रम चलाएको नोबेल ले गरेको हर्कत बर्बरता भएको उनको भनाई छ ।

त्यस्तै अर्का प्रदेशसभाका सदस्य नारायण बुर्जा मगरले प्रसूति गराउनुपर्ने जस्तो गम्भीर केशलाई उदयपुर घर भएकै कारण रेफर गर्नु गम्भीर घटना भन्दै कारबाही गर्न प्रदेश सरकार र सङ्घीय सरकारको ध्यानाकर्षण गराएकाछन ।

नोबेल मा भर्ना गरिएकी रौनियारको प्रसूतिको लागि आवश्यक सबै प्रक्रिया पुरा गरेपछि अप्रेसन गर्ने बेलामा उदयपुर घर भएको भन्दै बाहिर निकालिएको थियो । त्यस्तै गत शुक्रवार हात भाँचिएर अप्रेसनका लागि भर्ना भएका उदयपुरका भीमबहादुर खत्रीलाई पनि नोबेलले अप्रेसन थिएटरबाटै निकालेको थियो ।