धरान : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई आज गृह जिल्ला ताप्लेजुङ पुगेर आगलागी पीडितहरूले भेटेका छन् ।

आगलागी पीडितहरूलाई एउटै मापदण्ड र प्रक्रियामा समेटेर प्रदान गरिने राहत तथा सहयोगका लागि नेपाल सरकारले गृहकार्य सुरु गरेको बताए । यसका लागि स्पष्ट नीति तथा कार्य योजनाको तयारी भइरहेको भन्दै मन्त्री भट्टराईले अग्निपीडितलाई विचलित नहुन आग्रह गरे । सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार साथमा रहेकोले आगलागी पीडितहरूलाई विचलित नबन्न आग्रह गरेका हुन् ।

Yogesh-Bhattarai-1

आगलागी भएको क्षेत्रको स्थलगत अवलोकन समेत गर्दै मन्त्री भट्टराईले आगलागी घटना दुखद भएको बताए । जिल्लाका सरोकारवालासँग छलफल गर्दै पीडित परिवारको व्यवस्थापनका लागि सरकारको ध्यान केन्द्रित भएको बताए ।

पहिलो चरणमा आपत्कालीन राहत तथा व्यवस्थापनको कार्य पूरा भएको र बाँकी प्रक्रिया साथै दीर्घकालीन पुनः स्थापना र पुनर्निर्माणका लागि सरकारको आवश्यक ध्यान जाने पनि अग्निपीडित तथा जिल्लावासीलाई आश्वस्त पारे । आपत्कालीन राहत तथा पुनः स्थापनाका लागि स्थानीय तह र स्थानीय सरोकारवालाबाट कार्य पूरा हुँदै आएकोले अब प्रदेश र सङ्घीय सरकारको ध्यान दीर्घकालीन पुनः स्थापना तथा पुनर्निर्माणमा केन्द्रित हुने मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराईले फुङ्लिङ नगरपालिकाको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत क्षतिग्रस्त घरको पहिचान सहितको विवरण समेटिएको समग्र प्रतिवेदन तयार पार्न प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई निर्देशन पनि दिएका छन् । प्रतिवेदन प्राप्त भएपछि सो विवरणको आधारमा पीडित परिवारको दीर्घकालीन पुनः स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको निर्माण कार्य अघि बढाउन सहज हुने मन्त्री भट्टराईले बताएका छन् ।

यसै गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले बारम्बार आगलागी लगायतका बिपद्बाट समस्या झेलिरहेको ताप्लेजुङका लागि अब यस्ता घटना दोहोरिन नदिन र पीडित तथा प्रभावित समुदायलाई कसरी व्यवस्थापन गर्ने भन्ने आधार तय गर्न आगलागीग्रस्त क्षेत्रको स्थलगत अवलोकन भएको बताए । पोखरेलले पीडित तथा प्रभावित समुदायको सुझाव समेतका आधारमा दीर्घकालीन पुनः स्थापना तथा पुनर्निर्माणका कार्य अघि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार राती सदरमुकाम फुङ्लिङबजारको पुरानो बैङ्क लाइनस्थित ट्याक्सी स्टेन्ट क्षेत्रमा भएको आगलागीबाट आठ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो भने २९ परिवार विस्थापित भएका छन् । सो आगलागीको घटनाबाट सात करोड ६५ लाख ७२ हजार ७७ रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको प्रारम्भिक प्रतिवेदन रहेको छ ।

पीडित परिवारद्वारा सरकारसमक्ष ७ बुँदे माग

अग्निपीडितले बैङ्क तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण मिनाहा सहितका ७ बुँदे माग सरकारसमक्ष राखेका छन् ।

पीडित परिवारले आउँदा दिनहरूमा यस्ता घटना दोहोरिन नदिन थप वारुणयन्त्रको व्यवस्थापनलाई समेत ध्यान दिन स्थानीय सहित सरकार गम्भीर बन्नुपर्ने पनि बताएका छन् । उनीहरूले घर निर्माण गर्न र व्यवसाय सञ्चालन गर्न सहुलियत व्याजमा ऋण उपलब्ध गराउन, कागजातहरू जलेर नष्ट भएकोले प्रतिलिपि र कर छुट गरिदिनुपर्ने, पुनः स्थापनाका लागि आवश्यक व्यवस्था गर्नुपर्ने, घर बनाउन आवश्यक पर्ने काठका सामग्रीहरू पैठारी गर्न सहजताको व्यवस्था हुनुपर्ने लगायतका माग गरेका छन् ।