धरान : धरान ८ स्थित लाङ्गघाली सामुदायिक बनको भवनमा राखिएको सडक मानवहरूलाई सरसफाइ सम्बन्धी हात धुने र दाँत माझ्ने अभ्यास र सचेतना प्रदान गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नर्सहरूबाट उक्त अभ्यास र सचेतना प्रदान गरिएको हो । सोमबार अपाङ्ग पुनर्स्थापना केन्द्र तथा असहाय सेवा केन्द्र धरान ८ ले चार दिनको खाजा र मास्क, सेनिटाइजर, फिनेल र साबुन लगायतका सामग्रीहरू प्रदान गरेको छ ।

उक्त सामग्री होप धरानका अध्यक्ष निश्चल मोहन पलिखेलाई सेवा केन्द्रका अध्यक्ष सुनिल खड्का सहित दाताहरूले हस्तान्तरण गरेका हुन् । धरान उपमहानगरपालिकाले कोरोनाको सङ्क्रमण र लकडाउनको अवस्थामा देखा परेका समस्यालाई व्यवस्थापन गर्न धरानका सडक मानवहरूलाई उक्त वनको भवनमा राखेको हो ।

ती सडक मानवहरूका लागि बिहानको खाना र दिउसोको खाजा लगायतको सेवा होप धरानले गर्दै आएको छ । अन्य सम्पूर्ण व्यवस्थापन र बेलुकीको खाना धरान उपमहानगरपालिकाले गरेको छ । विभिन्न दाताहरूले होप धरान सँग समन्वय गरेर खाजा खाना खुवाउने गरेको छ ।

सडकमानवहरु विभिन्न प्रकृतिका भएकाले उनीहरूलाई विभिन्न सिप र सकारात्मक सोच विकास तालिम दिन आवश्यक भएको सडक मानव व्यवस्थापन समितिकी सदस्य एवं महिला सञ्जालकी अध्यक्ष सविता राईले बताए ।