धरान : लकडाउनको बेला अनलाइन कक्षा सञ्चालनको होड चलिरहेको छ । तर विद्यार्थी नेताहरू भने तत्काल अनलाइन कक्षाहरू सबै तिर पहुँच नहुने बताउँछन् ।

धरान महेन्द्र बहूमुखी क्याम्पसका नेवि सङ्घका कार्यवाहक सभापति एवं सचिव दोर्चि शेर्पा भने हाल सञ्चालन भइरहेको अनलाइन शिक्षा दीर्घकालीन र तत्काल सबैको पहुँचमा नभएको बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयले हाल विभिन्न सङ्कायहरूको अनलाइन कक्षा सुरु गरेको छ । तर नेपाल जस्तो विकासोन्मुख देशमा विद्यार्थीहरूलाई अनलाइन कक्षा दिने भन्ने बिसयमा योजना र शिक्षकहरूलाई अनलाइन कक्षा कसरी दिने ज्ञान सबैमा नभएको शेर्पाले बताए ।

'सबै ठाउँमा मोबाइल नेटवर्क टिप्दैन' शेर्पाले भने 'सबैले अनलाइन कक्षा लिन हाल सक्दैनन्, यसले झन् शिक्षामा हुने र नहुनेको खाडल बढ्न सक्छ ।'

अनलाइन कक्षा प्रभावकारी र दीर्घकालीन बनाउन युट्युब, रेडियो, टिभी तथा अनलाइन कक्षाको प्रयोग गर्न विस्तृत योजना आवश्यक रहेको उनी बताउँछन् । अनलाइन शिक्षा कुनै नीति,नियम,पद्धतिको बारे गहन छलफल गरेर निचोड निकाल्न सरकारलाई आग्रह गरेका छन् ।