झापा : झापाका सडकमा दयनीय जीवन बिताइरहेका नौ जना महिलालाई उद्धार गरिएको छ । यसरी उद्धार गरिनेमा झापाको मेचीनगर नगरपालिकाबाट ५ जना र जिल्लाकै बिर्तामोडबाट ३ जना रहेका छन् । यस अघि झापाकै कनकाईबाट एक महिलाको उद्धार गरिएको थियो ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालय तथा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरको विशेष पहलमा ती महिलाको उद्धार गरिएको हो । मेचीनगर तथा बिर्तामोड नगरपालिका,प्रशासन तथा सामाजिक अभियन्ताको सहयोगमा उनीहरूलाई उद्धार गरी विराटनगरको मानव सेवा आश्रममा पठाइएको छ ।

सामाजिक विकास राज्यमन्त्री गजमेरका अनुसार मानसिक सन्तुलन गुमाएका, लकडाउन वा अन्य कारणले बिचल्ली भएर सडकमा बस्न बाध्य अधिकांश मानिसहरूमध्ये महिला बढी जोखिममा परेकाले उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर उद्धार गरिएको हो ।

सरोकारवाला सहित राज्यमन्त्री गजमेरले उनीहरूको अल्पकालीन र दीर्घकालीन समस्या समाधानको पहल तत्काल थाल्ने प्रतिबद्धता कार्यान्वयनमा आएको भन्दै सरोकारवालाले खुसी व्यक्त गरेका छन् ।

सोमबार आश्रममा लगिएकाहरूको आरडीटी र पीसीआर विधिबाट थ्रोड स्वाब सङ्कलन गरी स्वास्थ्य परीक्षण गर्ने त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिईन ।

अहिले विश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण भइरहेका बखत उनीहरूलाई सोझै आश्रममा राख्दा समस्या हुने भएकाले उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपरेको राज्यमन्त्री गजमेरको भनाई छ ।