धरान : बाँकेको नेपालगन्जमा आज थप सात जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ८२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना सङ्क्रमित बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ निवासी हुन् । नेपालगन्जका संचारकर्मी समीर श्रेष्ठका अनुसार चार जना महिला र तीन जना पुरुषमा सङ्क्रमण पुष्टि छ ।

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि बाँकेमा एकै दिन १५ जना सङ्क्रमित फेला परेका थिए । सङ्क्रमितको सङ्ख्या बढेपछि नेपालगन्जमा आज बिहान ११ बजे देखि २५ गतेसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

नेपालगन्जमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या थप आजको सँग २३ पुगेको छ । नेपालगन्जमा अहिले सम्म १२ पुरुष र ७ र ९ वर्षीय बालिका सहित ११ महिलामा कोरोना सङ्क्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरपालिकाको वडानं. ५ र ८ का मुस्लिम समुदायमा कोरोना सङ्क्रमण देखिएकोले नेपागञ्जमा आज देखि कोही पनि घर बाहिर निस्कन नपाउने निर्णय भएको संञ्चारकर्मी श्रेष्ठले जानकारी दिएका छन् । नेपालमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ भने १६ जना निको भएका छन् ।