धरान : विराटनगरको कोरोना विशेष अस्पतालमा उदयपुरबाट उपचारका लागि ल्याइएका २८ जना कोरोना सङ्क्रमित मध्ये ६ जना भारतीय नागरिको रिपोर्ट कोरोना नेगेटिभ देखिएपछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोसी अस्पतालको कोरोना विशेष अस्पतालमा उदयपुर, झापा र भोजपुरका गरी ३१ जनाको उपचार भइरहेकोमा छ जना भारतीय नागरिकको पछिल्लो पिसिआर परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएकोले आज बिहान डिस्चार्ज गरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्रले जानकारी दिएकी छिन् । डिस्चार्ज भएकाहरूको उमेर ३० देखि ३४ वर्ष उमेर समूहको रहेको छ ।

उनीहरूको ३ पटक पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गर्ने निर्णय गरिएको डा. मिश्रले बताइन् । उनीहरू सबै भारतीय नागरिक भएकोले भारतमा पनि लकडाउन भएकोले उनीहरूलाई विराटनगरको रानी स्थित मर्कज मस्जिदमा लगेर राखिएको हो ।

यसै गरी प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट अहिले सम्म जम्मा ८ हजार ३५ जनामा नमुना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ३ सय २८ जनाको नमुना परीक्षण भएको छ । पिसिआरबाट १ हजार ७ सय ७ जनाको नमुना परीक्षण भएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या हिजो सम्म कूल १ हजार ७ सय ७३ रहेको छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना रहेका छन् ।