धरान : पर्सामा आज १७ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । थपिएका १७ जना सङ्क्रमित एकै परिवारका सदस्य भएको बताइएको छ । पर्साको वीरगन्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई गएको आइतबार कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको थियो ।

उनका परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरूको कोरोना परीक्षण गरिएको थियो । त्यस क्रममा उनको परिवारका सबै सदस्यको रिपोर्ट पोजेटिभ आएको छ । सङ्क्रमित हुनेमा २ महिनाको शिशुदेखि ६६ वर्षका वृद्ध समेत रहेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा बुधवार गरिएको परीक्षणमा १० पुरुष र ७ महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । देवकोटाका अनुसार ती सबै पर्साका स्थानीय बासिन्दा हुन् । कोरोना सङ्क्रमित पर्साका उनीहरू २ महिने शिशुदेखि ६६ वर्षीय वृद्धसमेत छन् । उनीहरूलाई वीरगन्जस्थित नारायणी अस्पतालको आईसोलेसनमा राखिने जानकारी दिइएको वीरगन्जका पत्रकार केसी लामिछानेले जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो पटक थपिए १७ जना भेटिएका सङ्क्रमितमध्ये २ महिने शिशु सबैभन्दा साना हुन । यसअघि बाँकेको नेपालगन्जमा ७ वर्षीयलाई कोरोना पुष्टि भएको थियो । नेपालमा २ महिने शिशुदेखि ६६ वर्षका वृद्धलाई पनि कोरोना देखिएको छ । नेपालमा अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ भने निको हुनेको सङ्ख्या २२ पुगेको छ । यसैगरी पर्सा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने ३ जना निको भईसकेका छन् ।