इटहरी : सरकारले पुन: लकडाउनलाई १० दिन थप गर्दै जेठ ५ गतेसम्म लम्ब्याएको छ । लकडाउनको समयमा बाहिर निस्किन सरकारले निषेध गरेपनि विभिन्न प्रकृतिका उद्योग तथा व्यवसायहरु भने संचालन गर्न दिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन लम्ब्याए पनि विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ ।

सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं मर्मत लगायतको काम गर्न पाइने छ ।

साथै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

वैठकमा कोरोनाको जोखिमका आधारमा रातो, पहेँलो र हरियो क्षेत्र निर्धारण गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने आएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल त्यस्तो मोडल अपनाउन नसकिने बताएपछी सो प्रस्ताब हटाइएपछी आवश्यक व्यवसाय संचालनको अनुमति सरकारले दिने भएको हो ।

सरकारले अनुमति दिएका यस्ता व्यवसायहरुमा काम गर्ने कामदारहरुले सरकारको मापदण्ड भने पुरा गरेको हुनु पर्दछ । यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर्नुपर्नेछ भने कामदारका लागि एकै स्थानमा आवासको व्यवस्था गर्नुपर्नेछ ।

श्रमिकलाई कम काम गर्ने ठाउमै खाना र खाजाको व्यवस्था गर्नुपर्नेछ । ठाउ अभाव भएका स्थानीय क्षेत्रमा रहेको सामुदायिक विद्यालय वा सरकारी खाली भवनमा स्थानीय व्यक्तिसँग सम्पर्क नहुने गरी ठाउ व्यवस्था गर्न सकिनेछ ।

यस्तै सिमेन्ट उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ, ढुंगा गिट्टी वालुवालगायतका निर्माण सामग्रीको उत्पादन, संकलन र ढुवानी गर्न दिइने भएको छ । शिक्षाको सन्दर्भमा जनक शिक्षा सामाग्री केन्द्रबाट पाठ्यपुस्तक बिक्रीको अनुमति दिएर पुस्तक पसल पनि खोल्न पाइने सरकारले जनाएको छ ।

Industries-List-05-06