धरान : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा शुभकामना व्यक्त गरेका छन ।

एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेका छन् । शान्ति, अहिंसाका प्रतिमूर्ति गौतम बुद्धबाट व्यक्त सत्य वचनहरुको महत्व आजको विश्व परिवेशमा झनै बढेको छ । बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने मेरो विश्वास छ, मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा भनिएको छ ।

यसैगरी किरात समुदायले मनाउने उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको मुख्यमन्त्रीले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीबीच बन्धुत्व, भाइचारा र एकताको भावना बढाउन यस प्रकारका चाडपर्वले उर्जा प्रदान गर्दै आएको छ । साथै, यस प्रकारका मौलिक साँस्कृतिक चाडपर्वहरुले सामाजिक एवम् पारिवारिक जमघट गराउने र समुदायबीचमा आपसी सद्‍भाव सुमधुर बनाउन सहयोग समेत गरेका छन् । यस वर्ष विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण यी चाडपर्व खुला र भव्य रुपमा मनाउन सम्भव भएन । अतः यो भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन मुख्यमन्त्री राईले विशेष अपील समेत गरेका छन् ।

धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्‍न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वहरुको माध्यमबाट कायम हुने एकता तथा सामाजिक सद्‍भावलाई दीगो र दरिलो बनाउने तर्फ लाग्नु हामी सबैको कर्तव्य हो । यी चाडपर्वले नेपालका सवै जातजाती, एकतावद्ध भै आपसी सद्‍भाव तथा भातृत्व अभिवृद्धि गरी समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न एवं कोभिड-१९ लाई पराजित गर्न सबैमा उत्प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु, सन्देशमा भनिएको छ ।