इटहरी : विराटनगरको कोरोना बिशेस अस्पतालमा उपचाररत ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उदयपुरको भुल्के झापा लगायातका संक्रमित उपचार भइरहेको अस्पतालमा थप ८ जना कोरोना मुक्त भएका हुन् ।

विराटनगर स्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा रहेका ६ जना बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए । थप आठ जनाको भने सोमबारदेखि लगातार दुई पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकोले शुक्रबार डिस्चार्ज गर्ने तयारि अस्पतालले गरेको छ ।

अस्पतालको आइसोलेसनमा रहेका थप ८ जना कोरोनामुक्त पुष्टि भएकोले शुक्रबार डिस्चार्ज गर्ने तयारि रहेको कोशी अस्पतालकि मेसु संगीता मिश्राले बताइन ।

कोशी अस्पतालमा कोरोना देखिएका उदयपुरका २८, झापाका २ र भोजपुरका १ जना राखिएको थियो । उनीहरुमध्ये ६ जना डिस्चार्ज भइसकेको र ८ जना शुक्रबार डिस्चार्ज भएपछि बाँकी १७ जना रहनेछन् ।

प्रदेश १ मा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ थियो । प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।