इटहरी : विराटनगरको कोभिड १९ विशेष अस्पतालबाट बुधबार ६ जना बिरामी डिस्चार्ज भए । बिहिबार (आज) पुन: ८ जनाको दुइपटक पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई समेत डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

प्रदेश १ मा जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ थियो । बिहिबार नेगेटिभ आएकाहरुको डिस्चार्ज भएपछी प्रदेश एकमा कोरोना संक्रमितको संख्या १७ हुनेछ ।

नेपाल कोरोना भाइरस (कोभीड-१९) संक्रमण फैलिने खतराको सुचीमा थियो । सरकारले देशैभर लकडाउनको घोषणा गरीसकेको थियो । त्यही बिचमा वैशाख ५ गते उदयपुरमा एकै पटक १२ जना संक्रमीत फेला परे । प्रदेश १ सरकारले विराटनगरमा कोभीड १९ विशेष अस्पताल बनाइसकेको थियो ।

चिकित्सकको तर्फबाट नेतृत्व गरिरहेका थिए डाक्टर दीपक सिग्देल । धेरै सरकारी अस्पतालका डाक्टरहरू बिदामा बसेको बेला उनी दोब्बर समय दिएर संक्रमितको उपचारमा संलग्न भइरहेका छन् । पहिलाभन्दा उनको व्यस्तता र जिम्मेवारी समेत परिवर्तन भएको छ । विराटनगरमा रहेको कोभीड-१९ विशेष अस्पतालमा भर्ना भएका सङ्क्रमितको उपचार उनैको नेतृत्वमा सफल बन्दै गएको छ ।

अन्य चिकित्सकको मनोबल उच्च बनाउनु पहिलो जिम्मेवारी थियो । जसकोलागी पहिल्यै देखी टोली तयारी अवस्थामा राखिएको डाक्टर सिग्देल बताउँछन् । आफ्नो टिमले यो संक्रमणलाई ठुलो परीक्षाको रूपमा लिएको उनले बताए । त्यससँगै कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सङ्गीता मिश्रको भूमिका पनि उल्लेखनीय रह्यो ।

कोभिडका बिरामीकोलागी पहिलो दिन देखिनै उपचार सुरु गरेको डा. सिग्देलले सुनाए । उदयपुरमा अकस्मात् संक्रमण देखा पर्‍यो । पूर्ण तयारी भएकोले खासै आत्तिने अवस्था भने थिएन । उनी भौतिक तयारीकोलागी प्रदेश १ सरकारलाई धन्यवाद दिन्छन् ।

Corona-Hospital 1

‘सुरुमा कसरी काम गर्ने भन्ने बारे अन्योल थियो । तर हामीले १४ दिनकोलागी डाक्टरको तयारी गरेका थियौ’, उनले भने 'सबैभन्दा ठुलो कुरा भौतिक तयारी हो । त्यसपछि मानसिक तयारी हो । भौतिक पुर्वधार सरकारले दिएको थियो । हामी मानसिक रूपमा तयार भएर लागी परेको हौ ।’

‘यो बेला संक्रमणको पहिलो चरण हो । भाइरस अझै पनि कम्युनिटी लेबल (समुदाय स्तरमा) पुगेको छैन । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मे अर्थात् जेठ दोस्रो साता सम्ममा नेपालमा पिक अवस्थामा पुग्छ । हामी अब के गर्ने भन्ने बारे तयारी हुनुपर्छ ।,’ उनले थपे, ‘अहिले सामान्य बिरामी आउँदा अत्तालिने भन्दा पनि एकै पटक १० हजार बिरामी देखियो भने के गर्ने भन्नेबारे पनि तयारी थाल्नुपर्छ ।’

संक्रमण फैलिन नदिन डिस्टेन्स मेन्टेन (सामाजिक दुरी) गर्नु नै मुख्य जिम्मेवारी रहेको उनी बताउँछन् । त्यसपछि डराउनु भएन । यो रोग लागेपनि मरिँदैन भनेर विश्वस्त हुनुपर्‍यो । हामी सबै जना कोभीड संक्रमीत हो भन्ने तरिकाले व्यवहार गर्नुपर्छ । डाक्टरदेखी सर्वसाधारण जनता सम्म अब कोभीड संक्रमीत हुन् भन्ने तरिकाले बुझ्नुपर्ने उनको भनाई छ ।

यसै बिचमा निजी मेडिकल कलेजका डाक्टहरु बिरामी हेर्न नमान्ने र सरकारी अस्पतालका डाक्टरहरू बिदामा बस्ने क्रम बढेको छ । तर डा. सिग्देल यो बेला डाक्टरको ठुलो परीक्षाको घडी भएको बताउँछन् । 

भाइरसको प्रकृतिबारे अनुमानकै भर पर्नु परिरहेको डा. सिग्देल सुनाउँछन् । १४ दिनसम्मका लक्षण देखिन्छ भने पनि कसैमा लक्षण नदेखिने र कसैमा ४३ दिनपछि पनि संक्रमण देखिने गरेको उनी बताउँछन् ।

तथापि पुनः इन्फेक्सन भएका व्यक्तिबाट अन्य व्यक्तिमा संक्रमणको जोखिम कम हुने उनले बताए । भाइरसको नेचर परिवर्तन भइरहेकोले अहिले नै यसै भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ ।