धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा पछिल्लो समय सर्वसाधारणमाको लापर्वही र बन्दा बन्दीलाई प्रशासनले व्यावहारीकरुपमा लागु गर्न नसक्दा कोरोना सङ्क्रमणको जोखिम झन् बढ्दै गएको छ ।

भुल्केको नुरी मस्जिदमा रहेका मुस्लिम धर्मगुरुहरूमा कोरोना सङ्क्रमण भएसँगै एकै ठाउँका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भुल्के क्षेत्रमा विशेष सावधानी अपनाउँदै सो क्षेत्रलाई सिल गरिएको थियो । भुल्के क्षेत्रमा पुरै सिल गरिएपछि पछिल्लो समय सर्वसाधारणको जनजीवनलाई सहज बनाउन भनेर वातावरण केही सहज बनाइएकोमा अहिले आएर सर्वसाधारणमा अटेरीपन उधुमै बढेर गएको भुल्केका संचारकर्मी यदु ढकालले बताए ।

ढकालका अनुसार भुल्केमा गैर मुस्लिम समुदायमा कोरोना अहिले सम्म देखिएको छैन । शनिवारको थप ३ जना सँगै अहिले उदयपुरको भुल्केका मात्रै ३१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जस मध्ये उदयपुरको नुरी मस्जिदमा पुगेका कोरोना सङ्क्रमित मध्ये १० जना कोरोनाको बिरामी निको भइसकेका छन् ।
आज बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्ति अनुसार उदयपुरको भुल्केकै थप तीन जना महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित तीनै जना महिला स्थानीयवासी रहेको र उनीहरू तरकारी व्यापार गर्नेहरू रहेको बुझिएको छ ।

केही दिन अघि मात्रै भुल्के क्षेत्रमा ३ सय ३५ जनाको थ्रोट स्वाबको नमुना लिइएको थियो । जस मध्ये धरानमा १ सय र विराटनगरमा २ सय ३५ पठाइएकोमा विराटनगरको कोसी अस्पतालको परीक्षणमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले बताएका छन् । उनीहरूलाई विराटनगरको कोरोना विशेष अस्पतालमा पठाउने तयारी भइरहेको पनि उनले जानकारी दिएका छन् ।

उदयपुरको भुल्केमा सर्वसाधारणको अटेरीपन बढेको छ । बन्दा बन्दीको बेवास्ता गर्दे बजार जाने, घुमघाम गर्ने र काँचो आँप टिप्नेहरूको सङ्ख्या बढ्दो रहेको संञ्चारकर्मी ढकालको भनाई छ । यसले गर्दा पछिल्लो समय झन् उदयपुरको भुल्के गाउँमा सर्वसाधारणको अटेरीपनले जोखिम बढेकोले सम्बन्धित निकायको ध्यान समयमै जानुपर्ने ढकाल बताउँछन् ।

यसै गरी पर्साको वीरगन्ज महानगरपालिकाको वडानं. ३ छप्कैयामा थप आज एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिका कोरोनाको उच्च जोखिममा रहेको भए पनि लकडाउन खुकुलो पार्ने सकरकारी निर्णयले समस्या हुने हो की भन्ने चिन्ता थपिएको वीरगन्जका संचारकर्मी केसी लामिछाने बताउँछन् ।

यो सँगै पर्साको वीरगन्जमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या २४ पुगेको छ भने कपिलवस्तुमा आज थपिएका तीन जान सँगै सङ्क्रमितको सङ्ख्या ४ पुगेको छ भने नेपालभरिको तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा सङ्क्रमितको सङ्ख्या १ सय ९ पुगेको छ भने निको हुनेहरूको सङ्ख्या ३१ पुगेको छ ।