इटहरी : उदयपुर लगायत कोरोना संक्रमणको बढी प्रभावित देखिएको क्षेत्रहरुमा नेपालि सेना र स्वास्थ्य मन्त्रालयको चिकित्सक टोलि परिचालन गरेको सरकारले बताएको छ ।

बढि प्रभावित क्षेत्रहरुमा ५ हजार ३ सय २० भन्दा बढी पिसिआर नमुना संकलन गर्न संयुक्त टोलि खटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

सो टोलिले टोलीले प्रदेश १ को उदयपुर, प्रदेश २ को रौतहट, पर्सा र बारा तथा प्रदेश ५ का विभिन्न जिल्लामा पिसिआर विधिको लागि स्वाब संकलन गरिरहेको छ ।

‘हिजो शुक्रबारदेखि इपिडियोमोलोजी र सेनाको टोली खटिएको छ, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले भने '४ सयको परीक्षण भइसकेको छ र अबको ३ दिनमा नमुना संकलन गर्ने लक्ष्य राखिएको छ ।'

संक्रमण बढी देखिएको जिल्ला र समग्र देशभरि नै परीक्षणको दायरा बढाउदै लाग्ने उनको भनाइ छ । सरकारसँग हाल ५० हजार हाराहारीमा किट उपलब्ध भएको जानकारी दिदै प्रवक्ता डा.देवकोटाले पिसिआर विधिको परीक्षणको दायरा बढाउदै लगिने पनि बताए ।

नेपालमा हालसम्म १ सय ९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । ती मध्ये ३१ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने हाल ७८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।