धरान : उदयपुरको त्रियुगा नगरपालिका वडानं. ३ भुल्केकै थप एक जना महिलामा कोरोना सङ्क्रमित फेला परेका छन् ।

पछिल्लो ३ सय ३५ जनाको थ्रोट स्वाब सङ्कलन गरी कोसी अस्पताल विराटनगर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका मध्ये कोसी अस्पतालमा परीक्षण गरिएका मध्ये आज पछिल्लो रिपोर्ट अनुसार उदयपुर भुल्केकै १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । यसको आधिकारिक जानकारी भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गर्न बाँकी छ ।

बिहान ८ बजे उदयपुर भुल्केका ३ जना, कपिलवस्तुका ३ जना र वीरगन्जका १ जना गरी ७ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको थियो भने अहिले थप उदयपुर भुल्केकै १ गरी एकै दिन ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

यो सँगै उदयपुरको भुल्केमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ भने निको हुनेको सङ्ख्या भुल्केकै मात्र १४ पुगेको छ ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय १० पुगेको छ भने ३१ जना निको भई सकेका छन् ।
यसै गरी आज उदयपुरको भुल्केका गैर मुस्लिम समुदायका १ सय ४३ जनाको थ्रोट स्वाब लिइएको छ । नेपाली सेनाको १८ नम्बर बाहिनीको सहयोगमा थ्रोट स्वाब सङ्कलन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जनाकारी दिए ।