झापा : कोरोना भाइरसको संक्रमण बढेसँगै ठप्प रहेको नेपाल प्रवेशको पूर्वी नाका शनिवारदेखि सञ्चालनमा आएको छ । संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि यो नाका विगत एक महिनादेखि बन्द थियो ।

भारतको पश्चिम बङ्गालस्थित रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपालको पूर्वी नाका काँकडभिट्टा भारततर्फबाट एकलौटी रूपमा बन्द गरेपछि यो नाका हुँदै नेपाल प्रवेश गर्ने सबै सवारीका साधन ठप्प थिए ।

शुक्रवार पश्चिम बङ्गाल सरकारले नाका खोल्ने निर्णय गरेपछि शनिवार भारतलगायत तेस्रो मुलुकबाट विभिन्न सामान बोकेका मालवाहक सवारी साधन मेची भन्सार प्रवेश गरेको नेपाली भन्सार अधिकारीहरूले बताएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट आउने मालवाहक सवारी साधनलाई नाकामा स्प्रे गरेर मात्र नेपाल प्रवेश गराइएको छ । अब तत्कालै नाकामै मालवाहक सवारी साधनलाई लक्षित गरेर ‘डिसइन्सफेक्शन टनेल’ निर्माण गर्ने योजना रहेको नेपाली सुरक्षा अधिकारीहरूको भनाई छ ।

आज दिउसोसम्ममा दुई दर्जन बढी मालवाहक सवारी साधन मेची भन्सार कार्यालय परिसर भित्रिएका छन् । भारत तथा तेस्रो मुलुकबाट आएका त्यस्ता सवारी साधनलाई २४ घण्टासम्म मेची भन्सार कार्यालय काँकडभिट्टाको याडमा नै राखेर मात्रै जाँच पास गरी गन्तव्य पठाइने छ ।