धरान : धरान उपमहानगरपालिकाको बजार अनुगमन समितिको आज बसेको बैठकले धरानमा लकडाउनको बेलामा हप्तामा दुई दिन पुस्तक पसल खुल्ला हुने निर्णय गरेको छ ।

धरान उपमहानगरपालिकाका उपमेयर तथा बजार अनुगमन समितिका संयोजक मञ्जु भण्डारी सुबेदीले दिएको जानकारी अनुसार आव हरेक सोमबार र बिहीबार हप्ताको दुई दिन पुस्तक पसल खुल्ला हुने छ । लकडाउनको बेलामा विद्यार्थीहरू पढ्न लेख्न सहज होस भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।

बैठकले लकडाउन अवधिमा तरकारी र खाद्यान्नका गाडीहरू बिहान ६ बजे देखि दिउसो ४ बजे सम्म मात्र सञ्चालन गर्न पाउने र निर्माण सामाग्री बोकेका ट्रिफरहरु भने साँझ ६ बजे देखि राति १० बजे सम्म मात्र सञ्चालन हुन पाउने निर्णय पनि भएको उपमेयर तथा बजार अनुगमन समितिका संयोजक मञ्जु भण्डारी सुबेदीले बताइन् ।

धरान उपमहानगर भित्र लकडाउनमा तरकारीजन्य बस्तुको सहजता सँगै खाद्यान्नमा समेत सहजता होस भनेर बिहान ६ बजे देखि ९ बजे सम्म खाद्यान्नका पसल सम्बन्धित वडाले अनुमति दिएकाहरू खुल्न पाउने निर्णय सँगै सर्वसाधारणलाई सामाजिक दुरी कायम गरी तोकिएको समयमा बजारमा किनमेल गर्न र एक घर एक जना मात्रै निस्कन पनि उपमेयर मञ्जु भण्डारी सुबेदीले आग्रह गरेकी छिन् ।