धरान : उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के गाउँमा मात्रै अहिले सम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।

एउटै गाउँ र एउटै समुदायका यतिका धेरै सङ्ख्यामा कोरोना सङ्क्रमण भएको हो । पछिल्लो परीक्षणमा पनि भुल्केकै मुस्लिम समुदायमानै कोरोना भाइरसको सङ्क्रमण देखिँदै आएको छ । एउटै बस्ती र समुदायमा कोरोना सङ्क्रमण बढनुसंगै अहिले आएर कोरोना सङ्क्रमितहरूलाई अस्पताल पठाउन अर्को समस्या सिर्जना भएको छ । शनिवार थप ३ जना महिलाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनीहरूलाई अस्पताल पठाउनका लागि भुल्केमा निकै ठुलो विवाद भयो ।

उनीहरू अस्पताल जानै नमानेको त्रियुगा नगरपालिका वडानं. ३ का वडाध्यक्ष अवधेश चौधरीले बताए । हामीलाई गोली ठोके पनि अस्पताल जाँदैनौ भनेर सङ्क्रमित सँगै भुल्केका मुस्लिम समुदायका अरू केही व्यक्तिहरूले जिद्धि गरेपछि उनीहरूलाई अस्पताल पठाउन ठुलो सकस भएको चौधरीले बताए । उनीहरूलाई समाएर गाडीमा हाल्न पनि नमिल्ने, प्रहरी प्रशासन र हामी जनप्रतिनिधिलाई निकै ठुलो समस्या भयो भन्दै वडाध्यक्ष चौधरीले भने केही मुस्लिम समुदायकै अजित मिया र आसीन मिया लगायतले पनि उनीहरूलाई सम्झाए पछि मात्रै एम्बुलेन्समा चढेर अस्पताल जान मानेका थिए ।

उदयपुरको भुल्केमा पछिल्लो समय अत्यन्तै अटेरीपन बढ्दै गएकोले समस्या भएको भुल्केका संचारकर्मी यदु ढकालको भनाई छ । लकडाउनमा घर भित्रै बस्नुपर्ने र घुम्न डुल्न नपाइने हो, तर भुल्केका स्थानियबासीहरु भने स्वतन्त्ररुपमा घुम्न डुल्न थालेका छन् । उनीहरू बाटोमा आउँदै गरेको देखिए आफै तर्किएर बाटो छोडी दिनुपर्ने जस्तो समस्याहरू देखिएको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् ।

पछिल्लो समय उदयपुरको भुल्केका सङ्क्रमित र सङ्क्रमितका परिवारहरू अस्पताल जाननै नमान्ने गरेको अवस्था छ । अरू तिर कोरोना भन्दा थरथर काम्ने हुन्छ तर अव भुल्के बासी डराउनै छोडेको वडाध्यक्ष चौधरीको भनाई छ ।

विश्वमा कोरोना भाइरसको महामारीले आक्रान्त बनाई रहेको बेलामा भुल्केका स्थानीयवासी जो सङ्क्रमितहरूको नजिकका छन् डराउन छाड्नु स्वास्थ्य संवेदनशीलताको हिसाबले ठुलो जोखिम भएको स्वास्थ्यविज्ञहरुको भनाई छ ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी लगायतको उपस्थितिमा आज भुल्केका केही सङ्क्रमितको सम्पर्कमा आएकाहरूलाई त्रियुगा जनता बहूमुखी क्याम्पसको क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ ।

भुल्केको पछिल्लो सङ्क्रमितको पनि पहिले नेगेटिभ, दोस्रो परीक्षणमा पोजेटिभ
शनिवार साँझ उदयपुरको त्रियुगा नगरपालिका भुल्केकै एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनको पनि पहिले वैशाख ७ गने गरिएको थ्रोट स्वाबको परीक्षण किराना नेगेटिभ अर्थात् कोरोना नभएको रिपोर्ट आएको थियो । उनको श्रीमान् कोरोना सङ्क्रमित भएकोले आशङ्का गरी दोश्रोपटक परीक्षण गर्दा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

उनलाई अहिले विराटनगर स्थित कोरोना विशेष अस्पताल भुल्केबाट पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदीले जानकारी दिएका छन् ।