धरान : धरान उपमहानगरपालिका वडा नं ३ पुरानो बजार चिनिया चोकबाट घरेलु रक्सी ओसारपसार गर्ने ट्याम्पो प्रहरी नियन्त्रणमा लिएको छ ।

आइतबार बिहान प्रहरीले गस्ती गर्ने क्रममा को १ ह ७९६० नम्बरको ट्याम्पोलाई घरेलु मदिरासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डिराज न्यौपानेले बताए ।

ट्याम्पो चालक गस्ती टोलीलाई देखेपछि बाटोमा नै ट्याम्पो छोडेर भागेका थिए । प्रहरीले शङ्का लागेर ट्याम्पो चेक जाँच गर्दा पछाडि सिट नजिक खाली ठाउँमा अन्दाजी एक सय लिटर रक्सी ८ वटा जारमा फेला परेको थियो ।

प्रहरीका अनुसार मदिरा ओसारपसार गर्ने ट्याम्पोलाई आवश्यक कारबाहीको लागि आन्तरिक राजस्व कार्यालय धरान पठाइएको छ भने फरार रहेका चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।