धरान : भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा आज धरानको भानु चौकमा भएको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

सामाजिक सञ्जाल मार्फत विरोध कार्यक्रमको आव्हान गरिएको सो विरोध कार्यक्रममा सामाजिक दुरी कायम गरेर प्रदर्शन गर्दा पनि प्रहरीले हस्तक्षेप गरेको सामाजिक अभियन्ता तथा पत्रकार महेश श्रेष्ठले जानकारी दिएका छन् ।

सामाजिक अभियन्ताहरूले धरानको भानु चौक स्थित लोकतान्त्रिक चौतारीमा आज मध्याह्न भारतीय विस्तारबाद विरुद्ध शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने बताएको थियो । सामाजिक सञ्जालबाट आह्वान गरेर दिउँसो १२ बजेदेखि शान्तिपूर्ण विरोध कार्यक्रम भइरहेको थियो । करिब डेढ घण्टा कार्यक्रम गर्ने भनिएको विरोध कार्यक्रमको अन्त्य तिर प्रहरी आएर हस्तक्षेप गरेको पत्रकार महेश श्रेष्ठले बताए । विद्यार्थीहरूले पनि यो प्रदर्शनमा सहभागिता हुने भनिएकोमा उनीहरूलाई प्रहरीले क्याम्पसमै रोकेकोले विद्यार्थीहरू ढिलो आएको पनि श्रेष्ठले बताए ।

भारतीय हस्तक्षेप बन्द गर, कालापानी लिम्पियाधुरा हाम्रो भूमि हो लगायत नारा लेखिएको प्रिन्ट गरिएको पर्चासहित विरोध भइरहेकोमा करिब १ घण्टा पछि प्रहरीले ती पर्चाहरु सबै खोसेर लगेको श्रेष्ठले बताए ।

विद्यार्थीहरूले भने अलि पछि विरोध प्रदर्शन गरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसबाट निस्किएको विद्यार्थीहरूको समूहले भारतीय विस्तारवाद मुर्दावाद नारा लगाउँदै विद्यार्थीहरूले प्रदर्शन गरेका थिए । उनीहरूलाई पनि प्रहरीले भानु चोकमा नाराबाजी गर्न दिएन् । आफूहरूलाई प्रहरीले क्याम्पसमै आएर विरोध जुलुसमा निस्किन नदिँदा सामान्य प्रहरीसँग झडप समेत भएको महेन्द्र बहुमुखि क्याम्पसका स्ववियु सभापति सागर सरगम चेम्जोङले बताए । विद्यार्थीहरूको पनि पर्चा, पम्प्लेट र कालो पट्टी प्रहरीले खोसेको सभापति चेम्जोङले बताए ।

भारतीय विस्तारबादको विरुद्धमा भोलि बिहान ७ बजे भानु चौक देखि जिरोप्वाईन्ट सम्म सामाजिक दुरी कायम गरेर मौन जुलुस हुने अभियन्ता तथा पत्रकार महेश श्रेष्ठले जानकारी दिएका छन् ।