इटहरी : इटहरीका मेयर द्वारीकलाल चौधरीले श्रीमती अपहरणको धम्कि दिएपछि इटहरीका पत्रकार ताराप्रसाद पोख्रेलले शान्ति सुरक्षाको माग गरेका छन् ।

चौधरीले फोन सम्पर्क गरि अपशब्द बोल्दै श्रीमती अपहरणको धम्की दिएको बताउदै बराह साप्ताहिकका पत्रकार पोख्रेलले जिल्ला प्रशासन कार्यालय सुनसरीमा शान्ति सुरक्षाको माग गरेका हुन् ।

सुरक्षा माग गर्दै पुगेका पोखरेलको निबेदनको बारेमा जिल्ला प्रशासन कार्यालयले तत्कालै जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्र लेखेको छ । जिल्ला प्रहरीले इलाका प्रहरी कार्यालय इटहरीलाई पत्र लेखि मेयर चौधरी र पोख्रेललाई झिकाई छलफल गराउन निर्देशन दिएको छ ।

छलफलमा कुरा नमिले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय पठाउन इलाका प्रहरी कार्यालय इटहरीलाई पठाएको पत्रमा भनिएको छ ।

itahari dhamki

आइतबार प्रसासन कार्यालय पुगेर पोख्रेलले सुनसरीका सिडिओ राजेश पौडेललाई शान्ति सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । इटहरीका मेयर द्वारीकलाल चौधरीले पोखरेललाई 'तेरो बुढी भोली अपरहण पर्दैछ' भन्दै धम्क्याएका हुन् । साँझको समयमा आफुमाथी मेयर चौधरीले घिनलाग्दो भाषामा धम्की दिएको उनले उल्लेख गरेका छन् ।

फोनमा पत्रकार पोख्रेलले को बोलेको भन्ने प्रश्नमा उनले पटक पटक तेरी बुढीको पोइ भनेका थिए । त्यसपछि मेयर चौधरीले दुई पटकसम्म पत्रकार पोख्रेललाई फोनमै तेरी बुढी भोलि अपहरणमा पर्दैछ भनेका थिए ।