धरान : कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको ४० दिनमा  देशभरि ४२१ जनाले आत्महत्या गरेका छन् ।

लकडाउनको पछिको ४० दिनको अवधिमा २०७६ चैत ११ देखि २०७७ वैशाख २० गते सम्म प्रहरीको तथ्याङ्क अनुसार दैनिक औसत ११ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

अधिकांश व्यक्तिहरू झुन्डिएर आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ । ४२१ जना मध्ये ४१३ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कमा उल्लेख छ । लकडाउनको समयमा बढी आत्महत्या हुनेमा पहिलो प्रदेश नं १ रहेको छ ।

प्रदेश एकमा लकडाउनको समयमा आत्महत्याको सङ्ख्या अन्य अवस्थामा भन्दा बढेको छ । सामान्य अवस्था भन्दा लकडाउनको बेला आत्महत्याको सङ्ख्या बढ्दै गएको हो ।

प्रदेश १ मा चालू आर्थिक वर्षको चैत्र १० गतेसम्ममा ८८ जनाले आत्महत्या गरेकोमा लकडाउनको अवधिमा थप ८१ जनाले आत्महत्या गरेको देखिन्छ । अन्य प्रदेशको तुलनामा प्रदेश नं १ को ग्राफ ह्वात्तै बढेको पाइएको छ । अहिले प्राय प्रत्येक दिन आत्महत्याको विषय समाचार बन्न थालेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमन कुमार तिम्सिना अनुसार आत्महत्या रोकथाममा लकडाउनको समय उपयुक्त हुने बताउँछन् ।

आत्महत्या नियन्त्रणमा परिवारको सबैभन्दा ठुलो भूमिका हुने तिम्सिनाले बताए पनि प्रदेश एकमा भने परिवार कै साथमा भएको बेला समेत प्रदेश एकमा आत्महत्या बढिरहेको देखिन्छ ।

मनोबिश्लेषक वासु आचार्यका अनुसार जीवन देखी हार खाएर वा आफूलाई सहयोग/माया गर्ने मानिसको अभावको कारण एक छिनको गलत निर्णयले मानिसले आत्महत्या गर्ने गरेका छन् । प्रेममा असफल भएका वा धोका खाएका व्यक्तिहरू बढी जोखिममा हुने मनोबिश्लेषक आचार्यको भनाइ छ ।

त्यस्ता व्यक्तिहरूलाई बढी निगरानीमा राख्नुपर्ने र त्यस्ता व्यक्तिहरूले जुनसुकै बेलामा पनि आत्महत्या गर्न सक्ने सम्भावना बढी हुने भएकाले सचेत रहनुपर्ने आचार्यको सुझाव छ । आफूमा आत्महत्याको सोचाई आउन थालेपछि नजिकको विशेषज्ञहरूलाई भेट्नु नै पनि आत्महत्याबाट जोगिने एउटा उपाय बन्न सक्ने बताइन्छ ।