इटहरी : नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार विहानमात्रै कपिलवस्तुमा र सप्तरीमा गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा साझमा थप १३ जना थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साझ ७ बजेर २० मिनेटमा जारि गरेको विज्ञप्तिमा थप कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

सोमबार साँझ थप १३ जनामा पुष्टि भएपछि नेपालमा एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।

आज एकै दिन २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको जोखिम झन् बढ्दै गएको छ । अहिले सम्म नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १३४ पुगेको छ भने निको हुनेको सङ्ख्या ३३ रहेको छ ।