धरान : भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा धरानमा नेविसंघले निकालेको विरोध जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

धरानको महेन्द्र बुहमुखि क्याम्पसबाट निस्किएको नेविसंघको जुलुसलाई प्रहरीले क्याम्पसबाटै निस्किन नदिने रणनीति तय गरेको भए पनि विद्यार्थीहरू नारा जुलुस गर्दै भानुचौक आई पुगेका थिए । भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघ सुनसरी जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर,रोशन चोङवाङ, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ ।

"लिपुलेक हाम्रो हो, केपी तिम्रो पाराले, दु:ख पाए साराले ,भन्दै राष्ट्रिय झन्डा सहित निस्किएको विरोध जुलुसलाई भानुचौकमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

nebi-sang-news-dharan

यसै गरी हर्क साम्पाङको समूहले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा विरोध जुलुस निकालेका थिए ।

सो समूहका पनि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले दिएको जानकारी अनुसार पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयको कर्वड हलमा राखिएको र सामान्य सोधपुछ गरिने बताएका छन् ।