धरान : कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

अस्पतालमा उनीसहित ९ जनाको स्वाब सङ्कलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ आएको छ । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब सङ्कलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो । सङ्क्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् ।

उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । सङ्क्रमित स्वास्थ्यकर्मीसहित अरूको स्वाब सङ्कलन गरिए पनि उनीहरूलाई क्वारेन्टाइन राखिएको थिएन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना सङ्क्रमित थपिएका छन् ।

ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एक जना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । मङ्गलवार सङ्क्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना सङ्क्रमितको सङ्ख्या २९ पुगेको छ ।